चालु आवको ११ महिनामा मापसे कारबाहीबाट २ करोड ४८ लाख राजस्व संकलन
काठमाडौं, २० असार । चालु आर्थिक बर्षको जेठ मसान्त सम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २९ हजार २ सय ६३ जना सवारी चालक कारबाहीमा परेका छन् । त्यसमा २९ हजार २ सय ७ पुरुष र ५६ जना महिला रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । उक्त कारबाहीबाट २ करोड ४८ लाख ९० हजार रुपैयाँ राजस्व रकम संकलन भएको छ । तथ्याक अनुसार विगतका वर्षहरुको तुलनामा मापसे गरि सवारी चलाउने क्रम केही घटेको छ ।
महाशाखाको अनुसार आर्थिक बर्ष २०६८÷०६९ मा ३ हजार ४ सय ८० पुरुष र १ सय ८७ महिला गरी जम्मा ३९ हजार ६ सय ६७ जना मापसेको काबाहीमा परेका थिए । त्यस्तै आर्थिक बर्ष २०६९÷०७०मा ५१ हजार ९ सय ९३ पुरुष र २ सय ८७ महिला गरी ५२ हजार २ सय ८०, आर्थिक बर्ष २०७०÷०७१ मा ५४ हजार १ सय ६० पुरुष र ३ सय ७५ महिला गरी जम्मा ५४ हजार ५ सय ३५ जना, आर्थिक बर्ष २०७१÷०७२ मा ३५ हजार ७ सय ५६ पुरुष र ३ सय ९ महिला गरी जम्मा ३६ हजार ६५ जना , आर्थिक बर्ष २०७२÷०७३ मा २८ हजार ९ सय ८८ पुरुष र २ सय ३४ महिला गरी जम्मा २९ हजार २ सय २२ जना र आर्थिक बर्ष २०७३÷०७४मा २८ हजार ७ सय ९९ पुरुष र ९७ महिला गरी जम्मा २८ हजार ८ सय ९६ जना कारबाहीमा परेका छन् ।
मापसे कारबाही अन्र्तगत ७ बर्षको तथ्याङ्क हेर्दा जम्मा ३ लाख ६८ हजार ३ सय ८३ पुरुष र १ हजार ५ सय ४५ महिला गरी २६ लाख ९ हजार ९ सय २८ सवारी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट २४ करोड ५० लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै चालु आर्थिक वषको सो अवधीमा मापसे, लेनअनुशासन लगायतका नियम उल्लंघन गरि कारबाहीमा पर्नेहरुबाट २६ करोड ३५ लाख २९ हजार राजस्व संकलन भएको छ ।
कार्यालयले सवारी दुर्घटना न्युनिकरण अभियान अन्र्तगत कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा संचालन गर्दै आएको छ भने मापसे लगायत अन्य चेकजाँचलाई समेत कडाइ गरेको छ । महाशाखाको तथ्यांक अनुसार नेपालमा हरेक बर्ष २ हजार भन्दा बढिले सडक दुर्घटनामा परि ज्यान गुमाउँछन् । जसमध्ये पनि मोटरसाइकल चढ्नेहरुको मृत्युदर उच्च रहेको छ । मृत्यु हुने मध्ये बार्षिक करिब १ हजार ६ सय युवाले अनाहकमै ज्यान गुमाइ रहेका छन् । यो दुर्घटनाको तथ्यांकलाई मध्यनजर गर्दै ट्राफिक नियमबारे सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको अभाव तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरुका अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा संचालन गरिदै आएको छ । मापसे गरी सवारी चलाउनेलाइ लाइसेन्स जफत गरी सुध्रिने मौका स्वरुप सचेतना कक्षा संचालन गरिएको र यसले मापसे सेवन गरी सवारी चलाउने तथा नियम मिच्नेको संख्यामा कमि आएको महाशाखाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । उनले भने ‘यस्ता चालकलाई महाशाखामा बोलाएर विशेष तालिम दिए पछि मात्र सवारी चालक अनुमती पत्र फिर्ता दिने गरेका छौँ ।’
तर कार्यालयले सवारी दुर्घटना न्युनिकरण अभियान अन्र्तगत सचेतना कक्षा संचालन गर्दै आए पनि तालिमका लागि उचित वातावरण नभएको प्रशिक्षार्थी बताउछन् । कक्षा लिन आउँदा भवन र बस्ने सिटको व्यवस्था राम्रो नभएको उनीहरुको गुनासो छ ।