‘अर्थतन्त्र चलायमान बनाउन बजेटको कार्यान्वयन चुनौतिपूर्ण’
काठमाडाैं, १७ जेठ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्ष२०८१/८२बजेट यथार्थपरक र संयमित भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कृषि, पर्यटन लगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको उनको भनाइ छ ।
यस्तै, आन्तरिक राजस्वमा भने समस्या भएको रहेकाे भन्दै अग्रवालले भूतप्रभावी करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जाेड दिए । यस्ता नीतिले व्यवसायी आतङ्कित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ ।
अध्यक्ष अगुवालले एकातर्फ स्रोत बढाउने लक्ष्य लिने तर आर्थिक शिथिलता ल्याउने बजेट ल्याउँदा तालमेल नमिल्ने बताए । राज्यले मालवस्तुको मूल्यांकन गर्नेतर्फ जान नहुने पनि उनको भनाइ छ।
यस्तै, आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि बढ्ने पनि उनले बताए । अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा बजेट बिनियोजन गर्ने अभ्यास गर्नुपर्ने उनकाे भनाइ छ ।
साथै कर्जा प्रवाह बढाउन वित्तीय पहुँच बढाउने गरि आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।