Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

जीवन विमा कम्पनीको नाफामा भारी वृद्धि

जीवन विमा कम्पनीको नाफामा भारी वृद्धि

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट आइरहेको बेला बिमा कम्पनीको नाफामा भने निरन्तर वृद्धि जारी रहेको छ । बिहीबार प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेका प्रायः जीवन बिमा कम्पनीको नाफामा वृद्धि देखिएको छ । बिहीबार वित्तिय विवरण प्रकाशित गरेका नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्सलगायतको नाफामा वृद्धि देखिएको हो ।

गुराँस लाइफ इन्स्याेरेन्स

गुराँस लाइफ इन्स्योरेन्सको मुनाफामा तेब्बर वृद्धि भएको छ । गत वर्ष पहिलो त्रैमासिकमा ८९ करोड २६ हजार रुपियाँ खुद मुनाफा गरेको कम्पनीले यस वर्ष २ करोड ६६ लाख ५८ हजार रुपियाँ खुद मुनाफा गरेको छ । कम्पनीले गत वर्षको पहिलो त्रैमाससम्म ५५ करोड रुपियाँको चुक्ता पुँजी रहेकोमा चालु आवको पहिलो त्रैमासम्म पुग्दा बढेर ५९ करोड ४० लाख रुपियाँ पुगेको छ । कम्पनीको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी १७.९५ रुपियाा, प्रति शेयर आम्दानी १४१.२८ र कम्पनीको जगेडा कोषमा २१ करोड ८० लाख रुपियाँ पुगेको छ ।

नेसनल लाइफ इन्स्योरेन्स

नेसनल लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ कारोड २० लाख ९१ हजार रुपैयाँ खुद नाफ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.३७५ ले खुद नाफा वृद्धि गरेको हो । गत आवको पहिलो ३ महिनामा ५ करोड ५ लाख ५९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । पुनर्बिमा कमिसनबाट ६५ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको यस कम्पनीले कुल ४३ करोड ४८ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न पनि सफल भएको छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ थियो । नेसनलले चुक्ता पुँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । हकप्रदका लागि कम्पनीले हालैमात्र धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यो कम्पनीको रिजर्भ कोषमा ३४ करोड २३ लाख ९६ हजार रुपैयाँ जम्मा भएको छ । यसको जीवन बिमा कोषमा भने १८ अर्ब ३७ करोड ८८ लाख ४१ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा जीवन बिमा कोषमा १५ अर्ब २४ करोड ४९ लाख १५ हजार रुपैयाँमात्र थियो । कम्पनीको महाविपत्ति जगेडामा ११ करोड ६१ लाख ९५ हजार रुपैयाँ छ । नेसनलको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५९ पैसा छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ ।

एसियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बर्षको तुलनामा ९.१५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ कमाएको थियो । चालु बर्षको पहिलो त्रैमासमा मात्रै कम्पनीले कुल बिमा शुल्क आर्जन ५५ करोड ३३ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा २०.५९ प्रतिशत धेरै हो । ८० करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब ७३ करोड रुपैयाँ राखेको छ । कम्पनीको जगेडा कोष भने घटेको छ । गत बर्ष कम्पनीको जगेडा कोषमा २३ करोड १० लाख रुपैयाँ थियो । एसियनले महाविपत्ति जगेडा कोषमा ३ करोड ४६ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७.८६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९३.२७ गुणा, प्रतिशेयर नेटवर्थ १२५.५४ रुपैयाँ र प्रतिशेयर कुल सम्पतिको मूल्य १ हजार ४ सय ८३ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x