सार्कलाई गति दिन ट्रयाक टु पहल आवश्यक
काठमाडौं, १ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई गति दिन दक्षिण एसियाली आर्थिक सम्मेलनजस्ता कूटनीतिमा ट्रयाक टु भनिने पहलको आवश्यकता औंल्याइएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आर्थिक सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले ट्रयाक टु पहलले सार्कलाई जीवन्त राख्ने उल्लेख गर्नुभयो । कूटनीतिमा ट्रयाक टु को अर्थ सरकार बाहिरबाट हुने पहलकदमीलाई बुझिन्छ । उपाध्यक्ष वाग्लेले क्षेत्रीय मुद्दाहरुमा सार्क क्षेत्रभर छलफलको वातावरणलाई संस्थागत गर्न आवश्यक रहेको बताए ।
सम्मेलनको पूर्ण सत्रमा, सेन्टर फर पोलीसी डायलग बंगलादेशका अध्यक्ष प्राध्यापक रेहमान सोभानले सार्कलाई उद्देश्यतर्फ अघि बढ्नबाट रोक्न खोज्नु कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै सार्क देशहरुबीच जीवन्त र घनीभूत एकता कायम गर्न नागरिक समाजले ठोस पहल गर्नुपर्ने बताए ।
पाकिस्तानस्थित सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्यूटका कार्यकारी निर्देशक अविदक्युमले सार्क मोटर भेहिकल सम्झौतामा पाकिस्तानको तत्परता नरहे पनि सार्क अघि बढ्न सक्ने बताउँदै यस्ता सम्मेलनहरुले सार्कलाई अघि बढाउन पूरकको काम गर्ने बताए ।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगका सामाजिक विकास महाशाखाका एसिया प्रशान्त क्षेत्रीय निर्देशक नागेश कुमारले छिमेकी देशहरुबीच सहोदर द्वन्द्व वास्तविक यथार्थ रहेको चित्रण गर्दै यसले क्षेत्रीय सहयोगलाई अघि बढ्नबाट रोकेको बताए । यद्यपि दक्षिण एसिया आर्थिक सम्मेलनजस्ता पछिल्लो समय देखिएका आकस्मिक प्रगतिहरुले क्षेत्रीय एकतालाई अघि बढाउने संवाहकको काम गर्ने उनको टिप्पणी थियो ।
इन्स्टिच्यूट अफ पोलीसी स्टडीज श्रीलंकाका दुश्नी रेकनले हरेक देशहरु आफ्नै उल्झनमा रहेकाले क्षेत्रीय प्रक्रियाले गति लिन नसकेको भन्दै यो अवस्था चाँडै नै अन्त्य हुने विश्वास व्यक्त गरे ।
सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले आर्थिक वृद्धिमा बढावा दिई क्षेत्रीय अर्थतन्त्रलाई टेवा दिन सक्ने साना मझौला उद्यम समेतका सेवा व्यापारलाई प्राथमिकता दिन आग्रह गर्दै सेवा व्यापारमा सार्क सम्झौतालाई तत्काल लागू गर्नुपर्ने धारणा राखे ।
सम्मेलनको अन्तिम दिन पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले क्षेत्रीय उर्जा सहयोग सम्बन्धि कार्य सत्रका क्रममा, बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई पहिचान नगरी स्वच्छ उर्जाको बारेमा मात्र जलविद्युत्लाई सीमित गर्दा क्षेत्रीय उर्जा सहयोगका लागि वातावरण तयार हुनुको सट्टा जटिलता थपिएको बताए । उनले उर्जा उपभोक्ताहरुले विद्युत् खपत गर्दा किसानहरुले निःशुल्क सिंचाई सुविधा प्राप्त गर्ने लगायत बहुउद्देश्यीय आयोजनाहरुको सुन्दरताका विभिन्न आयामहरुको समेत चर्चा गरे ।