चालु आर्थिक वर्षमा आयात–निर्यात दुबै बढ्दा पनि व्यापार घाटा थप बढ्याे

काठमाडाैं, ७ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा नेपालले आयात र निर्यात दुबै बढाउन सफल भए पनि कुल व्यापार घाटा भने अझै गहिरिएको छ। भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्मको अवधिमा आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा निर्यात पनि उल्लेखनीय रूपमा ६५.१६ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
गत वर्षको यही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ र निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ मात्र रहेको थियो। यस वर्षको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिए पनि आयात अझै धेरै भएको कारण व्यापार घाटा घट्न सकेको छैन।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मुलुकले ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो। यस वर्ष व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको छ, जसले अर्थतन्त्रमा अझै असन्तुलन रहेको संकेत गर्छ।
त्यस्तै, यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापार पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष चैत मसान्तसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष १६.८९ प्रतिशतले वृद्धि भई १४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।