Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न चन्द्र ढकालको आग्रह

नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौं, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन्।

नेपालमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन आएका चिनियाँ र बंगलादेशी प्रतिनिधिमण्डल तथा नेपालस्थित चिनियाँ र बंगलादेशी दूतावासका प्रतिनिधिहरूलाई स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको वातावरणबारे जानकारी गराए।

‘चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो। नेपालमा पर्यटन, ऊर्जा, कृषि र सूचना प्रविधि जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छन्। ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु,’ ढकालले भने।

उनले नेपालमा लगानीका लागि नीतिगत सुधारहरू भएको र लगानी गर्न इच्छुक व्यवसायीका लागि महासंघले सहजीकरण गर्न तयार रहेको बताए।

साथै, नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताप्रति आभार व्यक्त गर्दै यो मेला वस्तु तथा सेवाको खरिद–बिक्रीको थलोमात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

यसैबीच, नेपाल–चीन आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन र द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण गर्न संयुक्त लगानीका सम्भावनाबारे महासंघमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको बताउँदै नेपाली उत्पादनको बजार पहुँच, निर्यात र सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको औंल्याए।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र थप क्षेत्रमा लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई अझ बलियो बनाउन आफूहरू तयार रहेको बताए।

उनले सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालस्थित चिनियाँ दूतावासको आर्थिक तथा वाणिज्य शाखाका दोस्रो सचिव लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन र चिनियाँ सहयोगका लागि दूतावास सधैं सकारात्मक रहेको बताए।

छलफलमा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग र व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिन सक्ने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे। अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन्।

यस्तै, महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलाहरूमा नेपाली व्यवसायीको सहभागिताका लागि थप सहयोग र सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह गरे।

वैशाख २५ गतेदेखि सुरू भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन चिनियाँ र बंगलादेशी व्यवसायीहरूको समूह हाल नेपालमा छन्।

वैशाख २६ गते काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीका अवसरहरू रहेको जानकारी दिँदै लगानीका लागि अपिल गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *