शीर्षक: यूएसएआईडीले नेपालमा काम रोक्दा चोभार सुख्खा बन्दरगाहमा सयौं गाडी थन्कियो, दैनिक पार्किङ शुल्क बढ्दो

काठमाडाैं, २३ जेष्ठ । नेपालमा अमेरिकी सहयोग निकाय युएसएआईडी (USAID) ले सबै कार्यक्रमहरू बन्द गरेपछि त्यसले प्रयोग गर्दै आएको सयौं सवारीसाधन चोभार सुख्खा बन्दरगाहमा थन्किएको छ। यी गाडीहरू हरेक दिन प्रति सवारीसाधन रु १०० का दरले पार्किङ शुल्क तिर्न बाध्य छन्।
स्वास्थ्य, शिक्षा लगायतका विभिन्न विकास क्षेत्रहरूमा कार्यरत युएसएआईडीका कार्यक्रमहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि बन्द गरिएका थिए। राष्ट्रपति ट्रम्पले अमेरिकी करदाताको रकमको दुरुपयोग भएको आरोप लगाउँदै नेपाल लगायत विभिन्न देशहरूमा युएसएआईडीका कार्यक्रमहरू बन्द गर्न आदेश दिएका थिए।
नेपालमा विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको युएसएआईडीमाथि पछिल्लो समय धार्मिक परिवर्तन र राजनीतिक हस्तक्षेपमा संलग्न भएको आरोप पनि लागेको थियो। यिनै कारणले अमेरिकी प्रशासनले निकायको पुनरावलोकन गर्दै नेपालमा यसको गतिविधि अन्त्य गरेको बताइएको छ।
कार्यक्रम बन्दसँगै युएसएआईडीका सयौं गाडी र मोटरसाइकलहरू चोभारस्थित सुख्खा बन्दरगाहमा निष्क्रिय अवस्थामा थन्काइएको छ। हाल ती सवारीसाधन कुनै प्रयोजनमा प्रयोगमा नरहेको र दिनहुँको पार्किङ शुल्क भने बढ्दो क्रममा रहेको छ।
स्थानीय स्रोतका अनुसार युएसएआईडीले तत्काल यी गाडीहरूको व्यवस्थापनबारे कुनै निर्णय लिएको छैन। यसले चोभार बन्दरगाहमा स्थान अभाव सिर्जना हुनुका साथै सरकारी सम्पत्तिको दुरुपयोगसमेत भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।