काठमाडाैं, २५ जेष्ठ । अमेरिकाबाट निष्कासनमा परेका करिब ४० जना नेपाली आज आइतबार दिउँसो नेपाल फर्किँदै छन्। उनीहरू अमेरिकी सरकारद्वारा चार्टर गरिएको विशेष विमानमार्फत काठमाडौं आउँदै छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार चार्टर विमान दिउँसो ४ बजेर १५ मिनेट जतातिर काठमाडौं अवतरण गर्ने तालिका छ।
यो चार्टर फ्लाइटमा अमेरिका लगायत अन्य मुलुकका डिपोर्टीहरू पनि रहेका भए पनि नेपाली नागरिक मात्र नेपालमा झारिने तयारी गरिएको छ। यो फ्लाइट राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल प्रारम्भ भएपछि अमेरिकाले नेपालका नागरिकलाई डिपोर्ट गरेको दोस्रो ठूलो समूह हो। यसअघि फागुनको तेस्रो साता ८ जना नेपाली चार्टर फ्लाइटमार्फत अमेरिका बाट निष्कासनमा परेका थिए।
फर्किएकामध्ये केहीले मानव बेचबिखन अनुसन्धान ब्युरोको सोधपुछमा आफूहरू १२ वटा देशका सीमाहरू अवैध रूपमा पार गरेर अमेरिका पुगेको खुलाएका थिए। यो तथ्यले नेपालको आप्रवासन प्रणालीमा गम्भीर समस्या रहेको संकेत गर्छ।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको दुई दिनपछि, अर्थात् सन् २०२५ जनवरी २२ देखि, अमेरिकी प्रशासनले आधिकारिक कागजातविना बसोबास गरिरहेका आप्रवासीहरूमाथि कडाइ गर्दै निष्कासन अभियान तीव्र बनाएको हो। अमेरिकाको इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) नामक निकायले विशेष गरी कागजातविहीन आप्रवासीहरूलाई पहिचान गरी नियन्त्रणमा लिई डिपोर्ट गर्दै आएको छ।
नेपाल सरकारको अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार सन् २०२१ देखि २०२४ सम्म अमेरिकाबाट डिपोर्टमा परेका नेपालीहरूको संख्या १४० पुगेको छ। सन् २०२१ मा ३८ जना, २०२२ मा २४ जना, २०२३ मा २५ जना र सन् २०२४ मा ५३ जना नेपाली निष्कासनमा परेका थिए।
युइसले सन् २०२४ को नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर अझै पक्राउ नपरेका आप्रवासीहरूलाई पनि तीव्र रूपमा नियन्त्रणमा लिई डिपोर्ट गर्न थालेको हो। यसले आगामी दिनहरूमा नेपाल फर्काइने नेपालीहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
डिपोर्ट भएर फर्कने नेपालीहरूलाई त्रिभुवन विमानस्थलमै अध्यागमन र नेपाल प्रहरीले संयुक्त रूपमा प्रारम्भिक छानबिन गर्नेछ। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूलाई थप सोधपुछ गर्दै अमेरिका पुग्न प्रयोग भएको बाटो, संलग्न व्यक्ति वा दलालहरूको पहिचानमा ध्यान दिनेछ।