Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

आर्थिक सुस्तीबाट बिउँझिँदै नेपाली बीमा क्षेत्र, व्यवसायमा दोहोरो अंकको वृद्धि

आर्थिक सुस्तीबाट बिउँझिँदै नेपाली बीमा क्षेत्र, व्यवसायमा दोहोरो अंकको वृद्धि

काठमाडाैं, २६ जेष्ठ । लामो समयदेखि आर्थिक शिथिलताको प्रभावमा परेको नेपाली बीमा क्षेत्र विस्तारै पुनः गतिमा फर्कँदै गएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बीमा व्यवसायले उल्लेखनीय वृद्धि गर्न सफल भएको देखिएको छ।

प्राधिकरणले प्रकाशन गरेको बैशाख महिनाको ‘बीमा प्रतिबिम्ब’ अनुसार बीमा कम्पनीहरूको कुल व्यवसाय १४.०३ प्रतिशतले वृद्धि भएको छ। बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रामक रूपमा अघि बढेका छन्। समिक्षा अवधिमा कुल बीमा कारोबारको आकार १ खर्ब ७६ अर्ब २१ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि

जीवन बीमा क्षेत्रमा मात्रै १५.५५ प्रतिशत वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नयाँ जीवन बीमालेखको कारोबार पनि २६.९८ प्रतिशत ले वृद्धि भएको छ।

हाल सक्रिय जीवन बीमालेखको संख्या ९.६८ प्रतिशत ले बढेर १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ। समिक्षा अवधिमा मात्र ५६ लाख ४७ हजार ९०९ नयाँ जीवन बीमालेख जारी भएका छन्।

निर्जीवन बीमा क्षेत्रमा पनि उत्साहजनक प्रगति

निर्जीवन बीमा व्यवसाय पनि सकारात्मक दिशामा अघि बढेको छ। समिक्षा अवधिमा यो व्यवसाय ८.४६ प्रतिशत ले बढेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ पुगेको छ। निर्जीवन बीमालेख बिक्रीमा पनि ७.५९ प्रतिशत को वृद्धि भएको छ। यो अवधिमा २६ लाख ६६ हजार ८८७ निर्जीवन बीमालेख बिक्री भएका छन्।

कोभिडपछिको पुनरुत्थान र वर्तमान अवस्था

कोभिड महामारी र आर्थिक संकटका कारण गम्भीर असरमा परेको बीमा क्षेत्र अहिले सकारात्मक मार्गतर्फ अघि बढिरहेको छ। महामारीपछि आर्थिक गतिविधि कमजोर हुँदा बीमा व्यवसाय घट्दै गएको थियो। तर, पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै बीमा व्यवसाय पनि क्रमिक रुपमा वृद्धि हुँदै गएको देखिएको छ।

बीमाको पहुँच विस्तार, तर अझै चुनौती बाँकी

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमाको पहुँच ४७.३९ प्रतिशत जनसंख्यामा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३.८३ प्रतिशत ले वृद्धि हो। यद्यपि अझै ५२.६१ प्रतिशत जनसंख्या बीमाको पहुँचबाहिर रहेको प्राधिकरणले जनाएको छ।

बीमाको दायरा विस्तार भए पनि अपेक्षित मात्रामा वृद्धि नदेखिएको भन्दै प्राधिकरणले सचेतनामूलक कार्यक्रम, सेवा विस्तार, शाखा सञ्जाल वृद्धिजस्ता उपायहरू अवलम्बन गरिरहेको जनाएको छ। पछिल्ला वर्षहरूमा लघुबीमा कम्पनीहरूको स्थापना र ग्रामीण क्षेत्रसम्म सेवाको विस्तारले पनि बीमाको दायरा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *