Date

बुध, असार ४, २०८२
Wed, June 18, 2025

डोटीका स्थानीय तहहरूको नाममा १ अर्ब २८ करोड बेरुजू

डोटीका स्थानीय तहहरूको नाममा १ अर्ब २८ करोड बेरुजू

डोटी, ३ असार । डोटीका नौ स्थानीय तहहरूको कुल बेरुजू रकम एक अर्ब २८ करोड ५० लाख ३० हजार ५८९ पुगेको छ । महालेखापरीक्षक (मलेप) को कार्यालयले सार्वजनिक गरेका स्थानीय तहका आर्थिक वर्ष २०८०/०८१ का लेखा परीक्षण प्रतिवेदन अनुसार सो रकम बेरुजू रहेको पाइएको छ ।

नौ पालिकामध्ये सबैभन्दा बढी बेरुजू शिखर नगरपालिकाको रहेको देखिएको छ । यस नगर–पालिकाको नाममा जम्मा २६ करोड १० लाख २९ हजार २७६ रुपैयाँ बेरुजू देखिएको छ ।

आर्थिक वर्ष २०७९/०८० सम्म शिखर नगरपालिकाको बेरुजू २२ करोड एक लाख ६८० रहेकोमा ०८०/०८१ मा चार करोड नौ लाख २८ हजार ५९६ थप भएको मलेपको प्रतिवेदनमा उल्लेख छ ।

मलेपको प्रतिवेदन अनुसार के आई सिंह गाउँपालिकाको बेरुजू अन्य आठ पालिकाभन्दा कम छ । यस पालिकाको ०७९/०८० सम्म ६ करोड ९४ लाख ५३ हजार बेरुजू रहेको थियो ।

२०८०/०८१ मा ३२ लाख ४९ हजार ५१२ रुपैयाँ थप भई के आई सिंहको बेरुजू जम्मा सात करोड २७ लाख दुई हजार ५१२ पुगेको छ । ०८०/०८१ मा पनि जिल्लाका नौ पालिकामध्ये यस पालिकाको सबैभन्दा कम बेरुजू देखिएको छ ।

दिपायल सिलगढी नगर–पालिकाको आठ करोड २५ लाख २२ हजार ९५३ रुपैयाँ बेरुजू देखिएको छ । विगत वर्षसम्मको ६ करोड ५६ लाख ३५ हजार २७९ रुपैयाँमा ०८०/०८१ को एक करोड ६८ लाख ८७ हजार ६७४ बेरुजू थप भएको छ ।

गत वर्षसम्म १४ करोड ११ लाख ५८ हजार ७२९ देखिएको बोगटान फुड्सिल गाउँपालिकाको बेरुजू ०८०/०८१ मा १५ करोड ४५ लाख ३७ हजार ७७५ रुपैयाँ पुगेको छ । यस गाउँपालिकामा यो वर्ष एक करोड ३३ लाख ७९ हजार ४६ रुपैयाँ बेरुजू थप भएको छ ।

पूर्वीचौकी गाउँपालिकाले ०८०/०८१ मा एक करोड तीन लाख ६८ हजार ४९ रुपैयाँ बेरुजू बढाएको छ । विगत वर्षसम्मको १२ करोड एक लाख ८४ हजार ४०० रुपैयाँमा नयाँ बेरुजू रकम थप भई बोगटान फुड्सिल गाउँपालिकाको नाममा १३ करोड पाँच लाख ५२ हजार ४४९ रुपैयाँ बेरुजू देखिएको छ ।

सायल गाउँपालिकाको नाममा जम्मा १२ करोड २३ लाख ३२ हजार ३१० रुपैयाँ बेरुजू देखिएको छ । यस गाउँपालिकाको नाममा विगत वर्षसम्मको १० करोड ९७ लाख ५९ हजार रुपैयाँ रहेकोमा गत वर्ष एक करोड २५ लाख ७३ हजार ३१० थप भएको हो ।

जोरायल गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा विगत वर्षसम्मको बेरुजू १५ करोड ८९ लाख ३६ हजार ७० रुपैयाँबाट सम्परीक्षणमार्फत ११ लाख ४७ हजार ८१० रुपैयाँ घटाएको देखिन्छ । तर, गत वर्ष ९८ लाख ६६ हजार ६४३ थप भई सो पालिकाको जम्मा बेरुजू १७ करोड १० लाख ९८ हजार ३३३ देखिएको छ ।

बडीकेदार गाउँपालिकाको विगत वर्षसम्मको १३ करोड ४० लाख २७ हजार रहेकोमा गत वर्ष ४ करोड १३ लाख १३ हजार ९८८ थपिएको छ । अव यस गाउँपालिकाको जम्मा बेरुजू १७ करोड ५३ लाख ४० हजार ९८८ पुगेको छ ।

आदर्श गाउँपालिकाको नाममा ११ करोड ४९ लाख १३ हजार ९९३ रुपैयाँ बेरुजू देखिएको छ । यस पालिकाको नाममा रहेको विगत बर्षको नौ करोड ८१ लाख ८३ हजार ४५० रुपैयाँमा गत वर्ष एक करोड ६७ लाख ३० जार ५४३ थप भई उक्त रकम कायम भएको मलेपको प्रतिवेदनमा उल्लेख छ ।

मलेपको प्रतिवेदन अनुसार स्थानीय तहहरूमा असुल गर्ने पर्ने, नियमित गर्नु पर्ने र पेस्की बेरुजू रहेको देखाएको छ । नियमित गर्नु पर्ने बेरुजूको राशि धेरै छ । नियमित गर्नु पर्ने बेरुजू अन्तर्गत जिम्मेवारी नसारेको, कागज प्रमाण पेश नभएको सोध भर्ना नलिएको बेरुजूहरू देखाएको छ ।

स्थानीय तहहरूले बेरुजू फर्छ्यौट गर्न तत्परता नदेखाएको समेत मलेपले औँल्याएको छ । डोटीको जोरायल गाउँपालिकाले बाहेक आर्थिक वर्ष ०८०/०८१ मा अन्य कुनै पनि स्थानीय तहहरूले बेरुजू घटाउने प्रयास गरेको देखिएको छैन ।

लेखा परीक्षण गर्ने निकायको वित्तीय विवरण तथा कारोबारको परीक्षण गरी उचित आश्वस्तता प्रदान गर्ने उद्देश्यले मलेपले वार्षिक लेखा परीक्षण गर्ने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *