Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

नेपालमा इन्टरनेट बजारको प्रतिस्पर्धा: वर्ल्डलिंक शीर्ष स्थानमा, गुणस्तरमा चुनौती कायमै

नेपालमा इन्टरनेट बजारको प्रतिस्पर्धा: वर्ल्डलिंक शीर्ष स्थानमा, गुणस्तरमा चुनौती कायमै

काठमाडाैं, ५ असार । कुनै बेला इन्टरनेट भन्नासाथ ‘डायल–अप’ को जमाना सम्झने नेपाल अहिले ‘फाइबर क्रान्ति’ को युगमा प्रवेश गरिसकेको छ। आधुनिक डिजिटल जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको इन्टरनेट सेवा अब केवल एउटा सुविधा मात्र नभई प्रतिस्पर्धी बजारको महत्वपूर्ण सूचक पनि बनेको छ। पछिल्लो तथ्याङ्कले नेपालको इन्टरनेट बजार नयाँ ढंगले पुनर्संरचना भइरहेको देखाएको छ। प्रयोगकर्ता विस्तारको तीव्र गति, प्रविधिमा बढ्दो लगानी र पहुँच विस्तारको आक्रामक रणनीति अपनाएका केही कम्पनीहरू बजारको अग्रपंक्तिमा आएका छन्।

यस प्रतिस्पर्धामा सबैभन्दा अगाडि वल्र्डलिंक कम्युनिकेसन लिमिटेड देखिएको छ। राष्ट्रिय दूरसञ्चार प्राधिकरणले हालै प्रकाशन गरेको गत वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार, वल्र्डलिंक १० लाख ३ हजार ९४९ ग्राहकसहित शीर्ष स्थानमा रहेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकम लगायत अन्य ठूला प्रदायकहरूलाई पछि पार्दै वल्र्डलिंक इन्टरनेट सेवामा सबैभन्दा ठूलो प्रदायक बन्न सफल भएको हो। घरेलु उपभोक्तादेखि कर्पोरेट हाउससम्मलाई लक्षित गर्दै सेवा विस्तार गरिरहेको वल्र्डलिंक दुई वर्षअघि नेपालकै पहिलो विदेशी लगानी भित्र्याउने इन्टरनेट कम्पनी बनेको थियो। ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डमार्फत भित्रिएको विदेशी लगानीपछि कम्पनीले सेवा विस्तारमा आक्रामक रणनीति अपनाउँदै आएको छ। ग्राहक संख्यासँगै वल्र्डलिंकको राजस्व पनि निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था ‘केयर रेटिङ नेपाल’ का अनुसार सन् २०२४ मा कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशतले बढी हो। हाल वल्र्डलिंकको फाइबर नेटवर्क मुख्यतया सहरी क्षेत्रमा केन्द्रित भए पनि कम्पनीले ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने योजना अघि सारेको छ। कम्पनीका १० लाख ३ हजार ६४३ फाइबर ग्राहक छन् भने वायरलेसका ग्राहक संख्या ३०३ रहेको छ। नेपालका कुल इन्टरनेट बजारमा वल्र्डलिंकको ३२.०५ प्रतिशत हिस्सा रहेको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको प्रतिस्पर्धामा दोस्रो स्थानमा नेपाल टेलिकम रहेको छ। टेलिकमको ग्राहक संख्या ३ लाख ५१ हजार ९१२ रहेको छ, जसमध्ये फाइबर प्रयोगकर्ताको संख्या ३ लाख २५ हजार १८२ रहेको छ। इन्टरनेट बजारमा यसको ११.२३ प्रतिशत हिस्सा छ। सरकारी स्वामित्वको सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा धेरै सञ्चित नाफा कमाउने कम्पनी भए पनि इन्टरनेट सेवामा भने टेलिकमले अग्रता कायम राख्न सकेको छैन। तेस्रो स्थानमा डिश मिडिया नेटवर्क लिमिटेड छ, जसको ग्राहक संख्या ३ लाख ५० हजार ४०६ रहेको छ। यो कम्पनीले विशेषगरी सहरी क्षेत्रमा फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।

अन्य ठूला प्रदायकहरूमध्ये सुबिसु क्याबलनेट लिमिटेडको ग्राहक संख्या ३ लाख १० हजार २९४, भायानेट कम्युनिकेसन लिमिटेडको २ लाख ४५ हजार ९४५, क्लासिक टेक प्रालिको १ लाख ८२ हजार ९८६, वेबसर्फर नेपाल कम्युनिकेसनको १ लाख ७६ हजार ६९, टेकमाइण्ड्स नेटवर्क प्रालिको ८५ हजार ८९१ र सीजी कम्युनिकेसन लिमिटेडको ८० हजार ८५४ ग्राहक रहेका छन्। पछिल्लो समय ‘सस्तो इन्टरनेट’ भनेर चिनिँदै आएको वाइफाइ नेपाल प्रालिको ग्राहक संख्या पनि ७४ हजार नाघिसकेको छ। यद्यपि, बजारमा यी ठूला १० कम्पनीबाहेक ब्रोडलिंक, फाइबर वल्र्ड, सजिलो नेट, कोनेक्ट नेपाल नेटवर्कजस्ता साना प्रदायकहरूले पनि सेवा विस्तार गरिरहेका छन्। ग्राहक संख्या थोरै भए पनि तिनीहरूको क्षेत्रगत उपस्थिति उल्लेख्य नै रहेको छ।

इन्टरनेट सेवा प्रदायकहरूको संख्यामा वृद्धि हुँदै जाँदा सेवाको गुणस्तरीयता भने चुनौतिपूर्ण बन्दै गएको छ। उपभोक्ताहरूले बारम्बार सेवामा ढिलाइ हुने, प्रतिज्ञा अनुसारको स्पिड नपाइने र ग्राहक सेवामा कमजोरी जस्ता गुनासाहरू सार्वजनिक गर्ने गरेका छन्। ग्राहक संख्या बढ्दै गर्दा गुनासोहरू पनि सोही अनुपातमा बढेका देखिन्छन्। दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०–८१ मा कुल ३०५ वटा उपभोक्ता गुनासो प्राप्त भएका थिए, जसमध्ये २४५ गुनासो इन्टरनेट सेवासम्बन्धी थिए। तीमध्ये इन्टरनेट स्पिड, सुस्तता, कनेक्टिभिटी, बिलिङ समस्या, टोल फ्री नम्बर समस्या, राउटर, मर्मत र अन्य प्राविधिक पक्षमा व्यापक असन्तुष्टि देखिएको छ। गुनासोको हिसाबले पनि नेपाल टेलिकम ३१ गुनासोसहित शीर्ष स्थानमा छ। दोस्रोमा एनसेल छ, जसमा २२ वटा गुनासो आएका थिए। तेस्रोमा वल्र्डलिंक (१६), चौथोमा भायानेट (१४), पाँचौंमा क्लासिक टेक (१३) र बाँकी अन्य प्रदायकहरूमा एकल अंकमा गुनासोहरू छन्। यसले ठूलो ग्राहक आधार भए पनि सेवाको गुणस्तरमा चुनौती कायमै रहेको पुष्टि गर्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *