हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

काठमाडाैं, १२ असार । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आज (मंगलवार) सम्पन्न १८ औं वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु. ९,१४,३२,३७,३०६।- को ८ प्रतिशतका दरले हुन आउने रु. ७३,१४,५८,९८४.४८ बराबरको नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको हो।
यसैगरी, साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८०/८१ को अवधिको लागि NFRS (नेपाल वित्तीय प्रतिवेदन मान) बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरेको छ।
सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पनि स्वीकृत गरेको छ। साथै, सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ।
कम्पनीको प्रस्तावित विषय उपर नियामक निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनका लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गर्ने निर्णय सभाले गरेको छ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य र सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिएका थिए।