Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

बैंकको फाइलमा अड्किएको ४५ अर्ब: ११ महिनामा गैरबैंकिङ सम्पत्तिमा १० अर्बको भारी वृद्धि, फाइनान्सको अवस्था झन् नाजुक

बैंकको फाइलमा अड्किएको ४५ अर्ब: ११ महिनामा गैरबैंकिङ सम्पत्तिमा १० अर्बको भारी वृद्धि, फाइनान्सको अवस्था झन् नाजुक

काठमाडाैं, २९ असार । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्तिमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ मसान्तसम्म गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको अन्त्यमा ३५ अर्ब ५० करोड रुपैयाँ थियो। यसरी १० अर्ब रुपैयाँभन्दा बढीले यो सम्पत्ति बढेको हो। बैंकहरूले कर्जा विस्तार गर्न नसकेको र पुरानो कर्जा असुलीमा समस्या देखिएकोले गर्दा यस्ता सम्पत्तिमा भार थपिएको हो। निजी क्षेत्रको कर्जाप्रति माग सुस्त हुँदा बैंकहरूले निक्षेपको व्यवस्थापनमा समेत चुनौती भोग्नुपरेको छ।

राष्ट्र बैंकको विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा अनुपात (एनपीएल) ५.२४ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूको एनपीएल ५.०५ प्रतिशत पुगेको छ भने उनीहरूको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ७९ करोड रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ८ अर्ब ६० करोडले बढी हो। विकास बैंकहरूको एनपीएल ५.५६ प्रतिशत पुगेको छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जसमा ७९ करोडको वृद्धि भएको छ। सबैभन्दा कमजोर अवस्था फाइनान्स कम्पनीहरूको देखिएको छ। ती कम्पनीहरूको एनपीएल १३.०४ प्रतिशत रहेको छ भने गैरबैंकिङ सम्पत्ति २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको तुलनामा ७८ करोडले वृद्धि भएको हो।

यसले बैंकहरूमा लगानी जोखिमको भार बढाएको छ। खासगरी फाइनान्स कम्पनीहरूको अवस्था निकै संवेदनशील देखिन थालेको छ। बैंकहरूमा निक्षेप निरन्तर बढिरहे पनि कर्जाको माग सुस्त रहेको र त्यसैले तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। राष्ट्र बैंकले बारम्बार मौद्रिक उपकरण प्रयोग गरी तरलता नियन्त्रणको प्रयास गरिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *