Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

मोबाइल प्रविधिको सहयोगमा बचत दरमा ऐतिहासिक उछाल, विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरण तीव्र

मोबाइल प्रविधिको सहयोगमा बचत दरमा ऐतिहासिक उछाल, विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरण तीव्र

काठमाडाैं, १ साउन । मोबाइल प्रविधिको विस्तारले विकासशील देशहरूमा औपचारिक बचत दरमा विगत दशककै तीव्र वृद्धिलाई सम्भव बनाएको छ। विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फिनडेक्स २०२५’ प्रतिवेदनअनुसार कम तथा मध्यम आय भएका मुलुकहरूमा अब बढी संख्याका वयस्कहरूले बैंक वा वित्तीय खाताको प्रयोग गरेर औपचारिक रूपमा बचत गर्न थालेका छन्।

प्रतिवेदनअनुसार, २०२४ मा विकासशील देशहरूमा ४० प्रतिशत वयस्कले आफ्नो खाताबाट बचत गरेका छन्, जुन २०२१ को तुलनामा १६ प्रतिशत बिन्दुले वृद्धि हो। यो विगत १० वर्षमा देखिएको सबैभन्दा तीव्र वृद्धिदर हो।

विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले भने, “वित्तीय समावेशीकरणले जनताको जीवन परिवर्तन गर्ने मात्र होइन, सम्पूर्ण अर्थतन्त्रलाई रूपान्तरण गर्ने सम्भावना बोकेको छ। डिजिटल वित्तीय प्रणालीले यस सम्भावनालाई वास्तविकतामा बदल्न सक्छ, तर यसका लागि आवश्यक पूर्वाधार सुनिश्चित गर्नुपर्छ।”

मोबाइल मनीबाट बचतमा क्रान्ति

मोबाइल मनी सेवा प्रयोग गरेर बचत गर्ने वयस्कको संख्या २०२४ मा १० प्रतिशत पुगेको छ, जुन २०२१ को तुलनामा ५ प्रतिशत अंकको वृद्धि हो। उप-सहारा अफ्रिकामा त यो दर १२ प्रतिशतले बढेर ३५ प्रतिशत पुगेको छ।

आर्थिक अवसरका ढोका खुले

बचतको यो वृद्धि राष्ट्रिय वित्तीय प्रणालीका लागि फाइदाजनक मानिएको छ। बैंक तथा वित्तीय संस्थामा भएको बचतले लगानी, नवप्रवर्तन र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउँछ।

गेट्स फाउन्डेशनका अध्यक्ष बिल गेट्सले भने, “पहिलेभन्दा धेरै मानिसहरूसँग अब भविष्य निर्माणका लागि आवश्यक वित्तीय उपकरण छन्। यो समावेशी वित्तीय प्रणालीमा लगानीको प्रभावशाली प्रमाण हो।”

डिजिटल प्रविधिको पहुँच

विश्वभरका ८० प्रतिशत वयस्कसँग अब वित्तीय खाता रहेको प्रतिवेदनमा उल्लेख छ, जुन २०११ मा ५० प्रतिशत मात्र थियो। यद्यपि, अझै पनि १३ अर्ब मानिस वित्तीय सेवाबाट बञ्चित छन्। तिनीहरूमध्ये ९० करोड वयस्कसँग मोबाइल फोन छन् र ५३ करोडसँग स्मार्टफोन छन्, जसको प्रयोगले यो दूरी घटाउन सकिने देखिन्छ।

भारतको UPI प्रणाली वा ब्राजिलको PIX प्रणाली जस्ता तत्काल रकम स्थानान्तरण गर्ने प्रणालीमा लगानीले वित्तीय प्रयोगलाई अझ विस्तार गर्न सक्ने प्रतिवेदनको निष्कर्ष छ।

लैङ्गिक खाडल घट्दै

प्रतिवेदनले देखाएको अर्को महत्वपूर्ण उपलब्धि भनेको लैङ्गिक आधारमा वित्तीय पहुँचमा खाडल घटेको हो। अहिले पुरुषको तुलनामा महिलाको खाता स्वामित्वमा ४ प्रतिशत मात्र अन्तर रहेको छ। विकासशील राष्ट्रहरूमा महिलाको खाता स्वामित्व २०११ मा ३७ प्रतिशतबाट २०२४ मा ७३ प्रतिशत पुगेको छ।

सुरक्षा चुनौती कायम

यद्यपि, डिजिटल प्रयोगसँगै जोखिम पनि बढेको छ। विकासशील देशमा मोबाइल फोन भएका ४ अर्ब वयस्कमध्ये आधाले मात्र पासवर्ड प्रयोग गर्छन्, जसले साइबर सुरक्षाको चुनौती देखाउँछ।

डिजिटल कारोबार बढ्दो

२०२४ मा विकासशील राष्ट्रहरूमा ४२ प्रतिशत वयस्कले कार्ड वा मोबाइल प्रयोग गरेर डिजिटल माध्यमबाट कारोबार गरेका छन्, जुन २०२१ मा ३५ प्रतिशत मात्र थियो। त्यस्तै, सरकारी भुक्तानी लिनेहरूमा तीन चौथाइ र पारिश्रमिक लिनेमा आधा जनाले खाता मार्फत रकम प्राप्त गरेका छन्।

क्षेत्रीय तथ्यांकहरू:

  • पूर्वी एशिया र प्रशान्त: ८६ प्रतिशत वयस्कसँग स्मार्टफोन, ८३ प्रतिशतसँग वित्तीय खाता।

  • युरोप तथा मध्य एशिया: सबैभन्दा उच्च इन्टरनेट प्रयोग दर (९४ प्रतिशत मोबाइल स्वामित्व)।

  • लाटिन अमेरिका: ७० प्रतिशत वयस्कसँग खाता, आधाभन्दा बढीले डिजिटल कारोबार गर्छन्।

  • मध्यपूर्व र उत्तरी अफ्रिका: खाता स्वामित्व २०२१ को ४५ प्रतिशतबाट ५३ प्रतिशतमा पुगेको।

  • दक्षिण एशिया: भारतको नेतृत्वमा खाता स्वामित्व ८० प्रतिशत, मोबाइल स्वामित्व ६५ प्रतिशत।

  • उप-सहारा अफ्रिका: मोबाइल मनीको प्रयोगमा विश्वमै अगाडि, खाता स्वामित्व ५८ प्रतिशत।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *