काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, ६ साउन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् ।
४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छन् भने स्वभाविक कुरा हो दुईवटा पृष्ठभूमिबाट आएका नेपाली काङ्ग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचमा साझा मतको खोजी गर्नुछ ।’
यस्तै, उनले अहिले दुई पार्टीबीच उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले हाम्रो बीचमा उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा छ । यो दुइवटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ । एउटा कुलिङ पिरियडको जुन विषय थियो यसमा जो दोषि छ त्यसलाई कारबाही गर्नुपर्छ ।’
साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको, मन्त्रीले हतार गर्न खोजेको त्यसमा प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्छ । भूमि विधेयक पारित हुनुपर्छ तर पारित गर्ने भन्दै गर्दा हतारमा ल्याएर हुँ् । गहन छलफल गरेर गर्नुपर्छ ।’
उनले वीपी कोइरालाले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रुपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए, आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरिराख्नु पर्ने अवस्था नेपालको राजसंस्थाको नआउने बताए ।
उनले भने, ‘वीपी कोइरालालाई जति छिटो र नजिकबाट बुझ्न सकिन्छ । त्यति छिटो देशको प्रगतीलाई सहज बनाउन सकिन्छ । बीपीलाई चिन्ने कुरामा नेपालको भिन्न भिन्न शक्तिहरुबाट कमजोरी भएको छ । नेपालका राजाहरुले पनि उहाँ बुझ्नलाई गरेको कमजोरी अर्को पाटो छ । बीपीले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रुपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरि राख्नुपर्ने अवस्था नेपालको राजसंस्थाको नआउन सक्थ्यो ।’