Date

बुध, साउन ७, २०८२
Wed, July 23, 2025

वैदेशिक व्यापारमा सुधार, तर व्यापार घाटा अझै गहिरिँदै : एक वर्षमा १५ खर्बभन्दा बढी घाटा

वैदेशिक व्यापारमा सुधार, तर व्यापार घाटा अझै गहिरिँदै : एक वर्षमा १५ खर्बभन्दा बढी घाटा

काठमाडाैं, ६ साउन । नेपालको वैदेशिक व्यापारको अवस्था सुधारोन्मुख देखिए पनि व्यापार घाटा भने अझै गहिरिँदै गएको छ। भन्सार विभागको ताजा तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा निर्यातमा उल्लेख्य वृद्धि भए तापनि आयातको तुलनामा त्यो पर्याप्त देखिएको छैन।

गत आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। त्यसैगरी, निर्यात अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब बाट बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ, जसमा ८१.८० प्रतिशतको वृद्धिदर देखिएको छ।

महिना अनुसारको आयात विवरण हेर्दा, पुस, माघ र जेठ महिनामा सर्वाधिक आयात भएको देखिन्छ। पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब र जेठमा १ खर्ब ७० अर्ब रुपैयाँको आयात भएको छ। यो प्रवृत्तिले नेपालमा उपभोगमुखी आयात प्रणाली अझ बलियो हुँदै गएको देखाउँछ।

निर्याततर्फ, चैत, वैशाख र जेठ महिनामा उल्लेख्य वृद्धि देखिएको छ। विशेषगरी सोयाबिन तेल र भटमास निर्यातमा प्रमुख योगदानकर्ता बनेका छन्। वैशाख महिनामा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ पुगेको हो भने, जेठमा २ खर्ब ४७ अर्ब ५७ करोडको निर्यात भएको छ।

यो एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले बढी हो।

तर, यो वृद्धिसँगै व्यापार घाटा अझ गहिरिएको देखिएको छ। १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा लेखिएको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४० अर्ब ६० करोडको घाटाभन्दा ६ प्रतिशतले बढी हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *