पहिलो महिनामै १४ अर्ब सार्वजनिक ऋण थप

काठमाडाैं, १२ भदाैं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै १४ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको साउन मसान्तसम्मको विवरणअनुसार आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ थियो, जुन साउन मसान्तसम्ममा १४ अर्ब २ करोडले बढेर २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
कार्यालयका अनुसार यो ऋण हालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.९४ प्रतिशत बराबर रहेको छ । सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।
ऋण संकलन लक्ष्यतर्फ
सरकारले चालू आर्थिक वर्षका लागि कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार, साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ७.४८ प्रतिशत हो ।
ऋण भुक्तानीतर्फ
यसै अवधिमा सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि छुट्याइएको बजेट ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ मध्ये साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेटको ८.९३ प्रतिशत बराबर हो ।
विश्लेषकहरूका अनुसार पहिलो महिनामै ऋण भार बढ्नु आगामी महिनामा ऋण संकलनको गति झन् तीव्र हुने सङ्केत हो, जसले अर्थतन्त्रको दिगोपनाबारे थप चुनौतीपूर्ण प्रश्न उठाउनेछ ।