स्थानीयको अग्रसरता: लुटिएका प्रहरी चौकी पुनर्निर्माणमा जनसहभागिता

काठमाडाैं, २७ भदाै । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटले क्षतविक्षत भएका प्रहरी चौकीहरू पुन:स्थापना गर्न देशभर स्थानीय समुदाय अगाडि आएको छ। ललितपुरमा बिहीबार स्थानीय बासिन्दाले चौकी पुनः सञ्चालनमा ल्याई त्यहाँका दरबन्दी प्रहरीलाई स्वागत गरेपछि देशभर यस्तै पहलको लहर सुरु भएको हो।
काठमाडौँका टोलटोलमा समेत स्थानीय सरकार, टोल विकास समितिहरू र नागरिकको सक्रियता देखिएको छ। आन्दोलनको समयमा प्रहरी चौकीका लत्ता कपडादेखि सञ्चार उपकरण, कम्प्युटर, विभिन्न मुद्दाका फाइल तथा प्रमाण, जफत गरिएका धनमाल र हतियारसम्म लुटिएका वा जलेर नष्ट भएका छन्। कतिपय चौकीमा प्रहरीका पोशाकसमेत लुटिएको छ।
भवन, झ्यालढोका, पर्खाल र तारबार जस्तै भौतिक संरचना डढेर वा भत्काएर नष्ट हुँदा चौकीहरू पूर्णरूपमा अस्तव्यस्त छन्। भित्तामा भएको रङ्गसमेत आगोले कालो भएको छ।
यस्तो अवस्थाले प्रहरी चौकीको पुनर्निर्माण मात्र होइन, आवश्यक फर्निचर, कम्प्युटर, सञ्चार उपकरण र पोशाकको व्यवस्था अनिवार्य देखिएको छ। यसका लागि स्थानीय तहले आफ्ना बजेट शीर्षकमार्फत सहयोग गर्दै आएका छन् भने टोल विकास समितिहरूले कोष र चन्दा संकलनमार्फत योगदान सुरु गरेका छन्।
सुरक्षा व्यवस्थालाई पुनः सुदृढ पार्ने यस अभियानको प्रभाव बिस्तारै देशैभर फैलिने सम्भावना देखिएको छ।