काजी भीम मल्ल काटिएको इतिहास सम्झाउँदै ओलीले भने– देशको निशानी मेटाउन खोजिएको छ

काठमाडौं, ३ असोज। नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र संविधानलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा जारी वक्तव्यमा उनले सात दशक लामो संघर्षपछि नेपाली जनताले आफैंले निर्वाचित संविधानसभाबाट बनाएको संविधान जारी गरेको दिनलाई ऐतिहासिक भनेर स्मरण गरेका छन् । ‘संविधान नेपाली जनताले आफैंका लागि लेखेको भविष्य रेखा हो,’ उनले भनेका छन् ।
उनले संविधान जारी गर्दा देशले भोगेका चुनौतीहरूलाई सम्झँदै नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न दबाबलाई नेपाली जनताले परास्त गरेको उल्लेख गरेका छन् । ‘संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना निर्माण हुँदै थियो,’ उनले स्मरण गरेका छन् ।
गत साता जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे पनि ओलीले गहिरो दुस्ख प्रकट गरेका छन् । आन्दोलनमा गोली हान्ने आदेश सरकारले नदिएको उनले जिकिर गरेका छन् । ‘सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, छानबिनले सत्य उजागर गर्नेछ,’ ओलीको भनाइ छ ।
उनले आन्दोलनमा घुसपैठ गराई हिंसा मच्चाइएको भन्दै मृतक युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले देशमा देखिएको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिंहदरबार, नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालयदेखि नागरिकको सम्पत्तिसम्म तोडफोड र आगजनी हुनु दुस्खद भएको भन्दै उनले यसका पछाडिका षड्यन्त्रबारे धेरै कुरा समयले नै बयान गर्नेछ,’ भनेका छन् ।
ओलीले नयाँ पुस्ताले देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने कुरा आफैं अनुभव गर्ने उल्लेख गर्दै सार्वभौमसत्तामाथि भएको प्रहारलाई तत्काल बुझ्नुपर्ने आग्रह गरेका छन् । ‘नबुझिएमा हाम्रो सार्वभौमसत्ता इतिहासमा मात्र सीमित हुनेछ,’ उनले चेतावनीको शैलीमा भनेका छन् ।
इतिहासमा काजी भीम मल्लको मृत्युदण्डलाई स्मरण गर्दै ओलीले असन्तोषलाई यथार्थभन्दा बाहिर विस्तार गर्दा पछुतो मात्र बाँकी रहने टिप्पणी गरेका छन् ।
‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो,’ ओलीले भनेका छन्, ‘यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउने छ ।’
अन्त्यमा, उनले सबै पुस्ताका नेपालीलाई संविधान र सार्वभौमसत्ता जोगाउन एकजुट हुन आह्वान गरेका छन् । ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशलाई यो संकटबाट जोगाउन सक्छ,’ ओलीले भनेका छन् ।