यो दशैँमा खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्रा नबेच्ने

काठमाडौँ, ५ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने भएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले नबेच्ने जनाएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवरोधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताए।
देशमा देखिएको परिवर्तित राजनीतिक घटनाक्रमले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाइ छ। सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको बताउँदै उनले लामो समय खसी ,बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताए।
खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्सानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकाले यो वर्ष नबेच्ने निर्णय गरेको मिश्रले बताए। निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गरे। यो वर्ष खाद्यले खसीबोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने बताए।
मिश्रले भने‚ ‘देशमा देखिएको परिवर्तित राजनीतिक घटनाक्रम कति लम्बिन्छ भनेर हामीले पूर्वानुमान गर्न सकेनौँ। त्यसकारण पनि ल्याउन सक्ने अवस्था भएन। अर्को चाहिँ बाटो ३६ घण्टा बन्द हुने अवस्थामा खसीबोका र च्याङ्ग्रा मरेर ठूलो नोक्सान हुने भएकाले यो वर्ष संस्थानले खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय गरेको छ।’
कम्पनीले यसअघि करिब १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा सुपथ मूल्यमा बेच्ने तयारी गरेको थियो। अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो।