Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

विश्वमा धेरै सुन भण्डारण क्षमता कस्तो छ ? यी हुन् ठूला १० देश

विश्वमा धेरै सुन भण्डारण क्षमता कस्तो छ ? यी हुन् ठूला १० देश

काठमाडौं, २ कार्तिक । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत १ महिनामा १७.७ प्रतिशत बढेको छ । शुक्रबार बजार बन्द हुँदा प्रतिऔंस ४ हजार २४९ अमेरिकी डलर छ ।

एक औंस बराबर २.४३ तोला हुन्छ । २ दिनको सार्वजनिक विदापछि सोमबारदेखि मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भई नयाँ मूल्य तय हुनेछ । मजबुती अर्थतन्त्रका लागि सुनको भण्डारणलाई आधारशीला मान्ने गरिन्छ ।

विश्वभरका केन्द्रीय बैंकहरूले मूल्य वृद्धि, मुद्रा उतारचढाव तथा भूराजनीतिक अस्थिरताविरुद्ध जुध्नका लागि सुनको भण्डारण गर्दछन् । सन् २०२४ को अन्त्यसम्म विश्वका सबै मुलुकसँग भएको जम्मा सुनको परिमाण ३५ हजार ९३८ टन रहेको अनुमान छ ।

जसमध्ये ठूला १० देशसँग मात्रै २६ हजार ३६२ टन अर्थात् ७३ प्रतिशत सुन मौज्दात छ । बाँकी देशसँग भएको सुन जम्मा २७ प्रतिशत हो । नेपालसँग करिब ८ टन (७.९९ टन) सुन मौज्दात रहेको वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांक छ।

काउन्सिलको २०२४ अन्त्यसम्मको तथ्यांकअनुसार विश्वमा सबैभन्दा धेरै सुन राखेको मुलुक हो – अमेरिका । अमेरिकाले ८ हजार १३३ टन सुन भण्डारण गरेको छ । अमेरिकाको ३४ करोड जनसंख्यालाई हिसाव गर्दा प्रतिव्यक्ति २३.९ ग्राम सुन यहाँ मौज्दात छ ।

अमेरिकापछि धेरै सुन राखेको देश हो : जर्मनी । जर्मनीसँग ३ हजार ३५१.६ टन सुन मौज्दात छ । यहाँको जनसंख्या ८ करोड ३५ लाखलाई आधार मान्ने हो भने प्रतिव्यक्ति ४०.२ ग्राम सुन मौज्दात रहेको देखिन्छ ।

त्यस्तै तेस्रोमा रहेको इटालीसँग २ हजार ४५१.९ टन सुन मौज्दात छ । यहाँको जनसंख्या ५ करोड ८९ लाखका आधारमा प्रतिव्यक्ति सुन ४१.६ ग्राम हो । सुन धेरै भण्डारण गरेको चौथो मुलुक हो : फ्रान्स । २ हजार ४३७ टन सुन मौज्दात गरेको फ्रान्सको जनसंख्या ६ करोड ४८ लाखलाई आधार मान्दा प्रतिव्यक्ति मौज्दात सुन ३७.६ ग्राम हो ।

रसिया सुन भण्डारणका आधारमा पाँचौ ठूलो मुलुक हो । २ हजार ३३३ टन सुन रसियाले मौज्दात गरेको हो । यहाँको जनसंख्या १४ करोड ४४ लाखलाई आधार मान्दा प्रतिव्यक्ति सुन मौज्दात १६.२ ग्राम हुन आउँछ ।

त्यस्तै छैटौं ठूलो मुलुक चीनसँग २ हजार २७९.६ टन मौज्दात छ । १ अर्ब ४२ करोड जनसंख्यालाई आधार मान्दा चीनको मौज्दात सुन प्रतिव्यक्ति जम्मा १.६ ग्राम हुन आउँछ।

जनसंख्यालाई आधार मान्दा सबैभन्दा धेरै प्रतिव्यक्ति सुन राखेको देश हो : स्वीट्जरल्यान्ड । समग्रमा सुन परिमाणका आधारमा सातौं ठूलो स्वीट्जरल्यान्डसँग १ हजार ३९.९ टन मौज्दात छ । जनसंख्या जम्मा ८८ लाख रहेकाले प्रतिव्यक्ति सुन मौज्दात ११८.२ ग्राम हुन आउँछ ।

धेरै सुन राख्ने आठौं, नवौं र दशौं मुलुकमा भारत, जापान र नेदरन्यान्ड क्रमशः छन् । भारतसँग ८७६.२ टन, जापानसँग ८४६ टन र नेदरल्यान्डसँग ६१२.५ टन सुन मौज्दात छ । जनसंख्यालाई आधार मान्दा भारतको प्रतिव्यक्ति सुन मौज्दात ०.६० ग्राम, जापानको ६.९ ग्राम र नेदरल्यान्डको ३४.८ ग्राम हुन आउँछ ।

त्यसपछि धेरै सुन राख्ने अरु १० देशमा क्रमशः ताइवान, उज्वेकिस्तान, पोर्चुगल, पोल्यान्ड, साउदी अरेबिया, बेलायत, कजाकस्तान, लेबनान र स्पेन छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *