Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

युलेन्समा नयाँ नेतृत्व, आर्थिक चुनौती र पुन: सञ्चालनको तयारी

युलेन्समा नयाँ नेतृत्व, आर्थिक चुनौती र पुन: सञ्चालनको तयारी

काठमाडाैं, ७ कार्तिक । निजी शिक्षण संस्थामध्ये अग्रस्थानमा रहेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्लो समय विवाद र चर्चाको केन्द्रमा रहँदै आएको छ। सन् २००६ मा स्थापना भएको यो स्कुलले महँगो शुल्क लिने संस्थाको छवि बनाएको छ भने हालसम्म आफ्नो व्यावसायिक उचाइ कायम राख्न सफल देखिन्छ।

निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा ले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट गत असोज ११ गते राजीनामा दिएपछि स्कुल नयाँ नेतृत्वमा प्रवेश गरेको छ। उनको स्थानमा सोमप्रसाद पेनेरु नियुक्त भएका छन्।

हाल स्कुल बन्द भए पनि व्यवस्थापनले पुन: सञ्चालनको तयारी गरिरहेको छ। युलेन्समा हाल १ हजार २०० विद्यार्थी, १५० दक्ष शिक्षक, र ३०० कर्मचारी कार्यरत छन्। काठमाडौंस्थित भवन ४० हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ भने काभ्रेपलाञ्चोकको नालामा रहेको ‘लर्निङ सेन्टर’मा ७२ विद्यार्थी र ६ शिक्षक छन्।

आर्थिक दृष्टिले हेर्ने हो भने, स्कुलले गत आर्थिक वर्षमा ७७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। अघिल्लो वर्ष ७६ करोड ५० लाख र सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँको कारोबार भएको केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार स्कुलले पछिल्ला दुई वर्षमा ३२–३३ प्रतिशत नाफा आर्जन गरेको दाबी गरेको छ।

तर, गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा स्कुलमा आगजनी र तोडफोड हुँदा क्यान्टिन, साइन्स ल्याब, आर्ट रुम, तीनवटा पुस्तकालय (२० हजार पुस्तकसहित), सभा हल र अन्य संरचनामा क्षति पुगेको छ। यस घटनाले आर्थिक र व्यवस्थापन पक्षमा समेत असर पारेको छ।

कर्जासम्बन्धी स्थिति अनुसार, युलेन्सले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ (दीर्घकालीन ६० करोड, अल्पकालीन ५ करोड)। रेटिङमा ‘Placed with Credit Watch with Negative Implication’ उल्लेख गरिएको छ, जसले आगामी आर्थिक जोखिमको संकेत गर्दछ।

युलेन्सको नयाँ नेतृत्वले विद्यालय पुनः सञ्चालनका लागि तयारी सुरु गरेको जानकारी प्राप्त भएको छ, तर आगामी चुनौतीहरू वित्तीय र सुरक्षा दुवै क्षेत्रमा देखिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *