काठमाडाैं, ७ कार्तिक । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरूको प्रयोग पुनः अनिवार्य गर्न आदेश दिएको छ। अदालतले ‘ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ’ जस्ता अक्षरहरू पुनः पाठ्यक्रम र लेखनमा समावेश गर्न निर्देशन दिएको छ।
पहिले नेपाली वर्णमालामा क, ख, ग पढाउँदा ती अक्षरहरू पनि सिकाइन्थ्यो। तर आधुनिकतासँगै ‘ण’लाई ‘न’ले विस्थापित गरियो, ‘श’को सट्टा ‘स’ लेख्न थालियो, र ‘ऋ’लाई ‘रि’ लेख्न सुरु भयो। यसरी केही अक्षर बोलीचालीको शैलीमा लेख्न थालिएपछि शिक्षक र अभिभावकहरूमा द्विविधा सिर्जना भएको थियो।
सिक्किम निवासी अवकाशप्राप्त नेपाली भाषा शिक्षक र साहित्यकार धनराज गुरुङले ७ अगस्त २०२५ मा उच्च अदालतमा रिट दायर गरेका थिए। गुरुङले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र राज्य सरकारलाई विपक्षी बनाएर भाषिक शुद्धता र पहिचानका लागि अक्षरहरूको प्रयोग अनिवार्य गर्न माग गरेका थिए।
सुनुवाइपछि मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाका हराएका अक्षरहरू मौलिक पहिचानसहित फिर्ता ल्याउन र सबै शिक्षण संस्थामा प्रयोग अनिवार्य गर्न आदेश दिएको छ।
उच्च अदालतले आदेश कार्यान्वयनको लागि नेपाली भाषाविज्ञ सहितको ६ सदस्यीय समिति गठन गरेको छ। समितिमा शुक्र सुब्बा, चन्द्रप्रकाश शर्मा, शंकरदेव प्रसाद ढकाल, टेकबहादुर क्षेत्री, युवा बराल र प्रो. डा. कविता लामा रहेका छन्। समिति प्रत्येक शिक्षण संस्थामा आदेशको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ।
अदालतले आदेशमा लेखेको छ कि लेखनमा सानो त्रुटि पनि भाषाको शुद्धतामा असर पुर्याउन सक्छ। यदि कुनै संस्था वा लेखकले आदेश बेवास्ता गरे, तिनका किताब शिक्षण संस्थामा स्वीकार नहुने जनाइएको छ।
यो आदेशलाई कतिपयले सिक्किम मात्र नभएर सबै नेपाली भाषीको जितको रूपमा लिएका छन्, भने कतिपयले आधुनिक नेपाली पढाइको अधिकारबाट बन्चित हुने भन्दै विरोध पनि गरेका छन्।