विश्वकप लिग–२ M अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
काठमाडौं, ९ कार्तिक । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।
अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।
यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ रनमै २ विकेट गुमाएपछि अमेरिकालाई संकट देखिएको थियो । तर स्मित पटेल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपूर्ण साझेदारी गरे । यी दुई ब्याट्सम्यान क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।
तर ३३ औं ओभरमा स्मित रनआउट हुनासाथ र ३५औं ओभरमा साइतेजा आउट भएपछि अमेरिका केही दबाबमा परेको थियो । यद्यपि अन्तिम समयमा मिलिन्द कुमारको आक्रामक ब्याटिङका कारण अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन थप्दै स्कोर प्रतिस्पर्धात्मक बनाएको थियो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पार्न सफल भए । अब नेपालले लक्ष्य पछ्याउँदै जितका लागि मैदानमा उत्रनेछ ।
खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।



