Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

हबिबको सेयर नेशनल लाइफतर्फ, हिमालयन बैंकको स्वामित्व हस्तान्तरण अन्तिम चरणमा

हबिबको सेयर नेशनल लाइफतर्फ, हिमालयन बैंकको स्वामित्व हस्तान्तरण अन्तिम चरणमा

काठमाडाैं, १२ कार्तिक । हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख कित्ता सेयर हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्बन्धित कम्पनीहरुले अबको एक साताभित्र स्वामित्व हस्तान्तरण पूरा गर्ने तयारी गरेको जनाएका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाका अनुसार सेयर हस्तान्तरणका लागि आवश्यक पर्ने १८ प्रकारका कागजात तयार पारेर नामसारीको प्रक्रिया सुरु भइसकेको छ। बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएकाले यो प्रक्रिया कम्पनी रजिस्ट्रारमार्फत नभई नेप्से प्लेटफर्मबाट हुँदैछ। यसका लागि धितोपत्र दलाल कम्पनीहरुलाई जिम्मा दिइसकिएको छ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले ब्रोकर कम्पनीहरुलाई जिम्मा दिइसकेकाले अबको एक साताभित्र हक हस्तान्तरण पूरा हुने विश्वास व्यक्त गरेका छन्।

पाकिस्तानी बहुराष्ट्रिय संस्था हबिब बैंक लिमिटेडको स्वामित्वमा रहेका २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफ इन्स्योरेन्सले ‘एकमुष्ठ’ रूपमा खरिद गर्न लागेको हो। प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा हुने सम्झौता अनुसार नेशनल लाइफले कुल ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५३ रुपैयाँ तिर्नेछ। यसपछि हबिबले नेपालबाट झण्डै २ करोड ३६ लाख अमेरिकी डलर बराबरको रकम पाकिस्तान लैजानेछ।

नेपाल राष्ट्र बैंकले यो सेयर खरिदका लागि तिहारअघि नै अन्तिम स्वीकृति दिएको थियो। त्यसपछि गत आइतबार हिमालयन बैंक र नेशनल लाइफ दुबै संस्थाले सेयर कारोबार पूरा गर्न ब्रोकर कम्पनीहरुलाई जिम्मा दिएका थिए।

हक हस्तान्तरण पूरा भएपछि हबिबका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा रहेका फह्रान तालिबले राजिनामा दिनेछन्। त्यसपछि बैंकको सञ्चालक समितिले नेशनल लाइफको प्रतिनिधिलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।

यस हस्तान्तरणपछि नेशनल लाइफ इन्स्योरेन्स हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी बन्नेछ। हाल डेढ प्रतिशत स्वामित्व रहेको नेशनल लाइफको हिस्सेदारी हबिबको सेयर किनेपछि झण्डै १४.५ प्रतिशतमा पुग्नेछ।

सीईओ खत्रीका अनुसार, हिमालयन बैंकको सञ्चालक समितिमा आउने नयाँ प्रतिनिधिको नाम भने हालसम्म टुंगो लागेको छैन। उनले भने, “त्यो विषयमा हाम्रो सञ्चालक समितिले निर्णय गर्छ, अहिलेसम्म कुनै निर्णय भएको छैन।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *