मनाङ–मुस्ताङमा फसेका दुई हजारभन्दा बढी पर्यटकको उद्धार सम्पन्न
काठमाडाैं, १३ कार्तिक । लगातारको वर्षा र भारी हिमपातका कारण हिमाली क्षेत्रमा फसेका करिब दुई हजार आन्तरिक र विदेशी पर्यटकहरूको सफलतापूर्वक उद्धार गरिएको छ।
पर्वतीय पदयात्राको उत्कर्ष सिजनमै हिमपात भएपछि मनाङ, मुस्ताङ, म्याग्दी र गोरखा जिल्लाका उच्च भू–भागमा सयौँ स्थानीय, नेपाली र विदेशी पदयात्री फसेका थिए।
अधिकारिहरूका अनुसार बिहीबार बिहानसम्म करिब १,५०० स्थानीय तथा स्वदेशी पर्यटक र २०० भन्दा बढी विदेशी पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। अझै केही पर्यटक गहिरो हिमस्तरमा फसेका छन् र तिनीहरूको उद्धार कार्य जारी छ।
मनाङ जिल्लामा सबैभन्दा बढी उद्धार कार्य सम्पन्न भएको हो। राज्यका सुरक्षा निकायहरूले घटनापछि तत्काल आपतकालीन टोली परिचालन गरेका थिए। तिलिचो, खाङसार, पिसाङ र अपर मनाङ क्षेत्रमा उद्धार कार्य पूरा भइसकेको छ।
तिलिचो, अपर मनाङ र वरपरका क्षेत्रहरूमा उद्धारको प्रतीक्षामा रहेका १,५०० भन्दा बढी स्वदेशी र विदेशी पर्यटकलाई सुरक्षित स्थानमा ल्याइएको छ। अहिले केही स्थानीयवासी र पर्यटक स्वेच्छाले त्यहीं बसेका बाहेक सबैलाई उद्धार गरिएको जनाइएको छ।
उद्धार गरिएका पर्यटकहरूलाई अहिले चामे र बेसीसहरजस्ता सुरक्षित स्थानहरूमा ल्याइएको छ। हिमपातका कारण सडक अवरुद्ध हुँदा सवारी साधन अभाव देखिएपछि १५ वटा जीप र २ वटा बस परिचालन गरेर पर्यटकहरूलाई स्थानान्तरण गरिएको हो।
यस उद्धार अभियानमा मनाङस्थित नेपाली सेनाको ‘न्यू भैरवी गण’, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको संयुक्त सहयोग रहेको थियो। समन्वित प्रयासका कारण ठूलो संख्यामा पर्यटकलाई समयमै सुरक्षित उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन्।



