काठमाडाैं, २८ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियामा कार्यरत नेपाली दूतावासका कर्मचारीहरुलाई त्यहाँ रहेका सम्पूर्ण नेपालीका संरक्षकको रूपमा जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।
आज सेउलस्थित नेपाली दूतावासमा भ्रमणको क्रममा मन्त्री खरेलले दूतावासका अधिकारीहरूले कोरियामा बसोबास गर्ने नेपालीहरूको अधिकार र कल्याणका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने र समस्या समाधानमा सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए।
मन्त्री खरेलले दूतावास प्रमुख डा. शिवमाया तुम्बाहाम्फेलाई नेपाल–कोरिया सम्बन्ध थप मजबुत पार्दै विदेशी लगानी भित्र्याउन वातावरण सिर्जना गर्न भूमिका खेल्न अनुरोध पनि गरेका छन्। उनले दुई देशबीचको सम्बन्ध र सहकार्य विस्तारका लागि दूतावासले सक्रिय पहल गर्नुपर्ने र विभिन्न गुनासोहरू भइरहेका बेला सर्वसाधारणको हितका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्।
यस अवसरमा दूतावास प्रमुख तुम्बाहाम्फेले सिमित कर्मचारी र केही गैर-आवासीय नेपाली संघको विवादका कारण प्रभावकारी काम गर्न कठिनाइ भएको बताइन्। उनले भने कि उनी नेपाल र नेपालीको कल्याणका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मन्त्री खरेलले नेपाल एयरलाइन्सका सेउल उडान सञ्चालन तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका कोरियाका नेपाली श्रमिकका विविध समस्याको समाधानमा पहल गर्न दूतावासलाई ध्यानाकर्षण गराए। साथै उनले कोटा अनुसार थप मानव संशाधन दूतावासमा पठाउने पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री खरेल नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ११ मा सेउल प्रस्थान गरेको थियो, जहाँ उनी ११औँ ग्लोबल ICT लिडरशिप फोरममा सहभागी हुन पुगेका हुन्।