सोनापुर मिनिरल्स पहिलो त्रैमासमै नोक्सानीबाट मुनाफ़ामा फड्को
काठमाडाैं, ३० कार्तिक । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा आफ्नो वित्तीय तस्वीर उल्लेखनीय सुधार गर्दै नोक्सानी हटाएर नाफामा प्रवेश गरेको छ। आइतबार प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको नोक्सानी उल्टाउँदै यस वर्षको पहिलो त्रैमासमा ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।
गत आवको सोही अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।
सोनापुरको व्यापार (बिक्री आम्दानी)मा देखिएको ठूलो उछालले नाफालाई धनात्मक बनाएको हो। समिक्षा अवधिमा कम्पनीको व्यापार ९५.३० प्रतिशत ले बढ्दै ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा कम्पनीको व्यापार ३४ करोड ३० लाख रुपैयाँ मात्रै थियो।
व्यापार वृद्धिसँगै कम्पनीको कुल नाफा ७८८.९१ प्रतिशत ले बढेर २३ करोड ३५ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि यसपटक राम्रो सुधार देखाउँदै १३ करोड ४८ लाख रुपैयाँ धनात्मक बनेको छ।
वित्तीय संरचनातर्फ हेर्दा, सोनापुर मिनिरल्सको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले जगेडा कोषमा २ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ सुरक्षित राखेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ मा रहेको विवरणमा उल्लेख छ।



