होन्डाको २०३० लक्ष्य: भारतीय बजारमा हाइब्रीड ‘गेम–चेंजर’ मोडलहरूको धडाको तयारी
काठमाडाैं, ८ मंसिर । भारतको अटोमोबाइल उद्योग तीव्र परिवर्तनको चरणमा प्रवेश गरिरहेको समयमा होन्डाले दीर्घकालीन रणनीति सार्वजनिक गर्दै हाइब्रीड सेग्मेन्टमा आफ्नो प्रभाव विस्तार गर्ने स्पष्ट संकेत दिएको छ । वातावरणमैत्री प्रविधि, इन्धन बचत र आधुनिक डिजाइनप्रति उपभोक्ता झुकाव बढ्दै जाँदा कम्पनीले सन् २०३० सम्म १० नयाँ मोडल लन्च गर्ने महत्वाकांक्षी योजना अघि सारेको हो ।
चार नयाँ हाइब्रीड एसयूभी छिट्टै
होन्डाले नजिकैको समयमै भारतीय बजारमा चार प्रमुख हाइब्रीड मोडल भित्र्याउने तयारी गरिरहेको छ । यी मोडलहरू कम्पनीका ‘फ्युचर लाइन–अप’ को मेरुदण्डका रूपमा प्रस्तुत गरिएका छन् ।
-
होन्डा एलिभेट हाइब्रीड
-
होन्डा प्रिल्युड कपल (हाइब्रीड)
-
होन्डा जेआर–भी हाइब्रीड
-
होन्डा ७–सिटर हाइब्रीड एसयूभी
विशेषगरी दक्षिण एसियाली बजार, विशेष गरी भारतमा, हाइब्रीड क्याटेगोरीको प्रतिस्पर्धा तीव्र बनाउने लक्ष्य कम्पनीले लिएको छ ।
कुन मोडलमा के खास ?
१. एलिभेट हाइब्रीड – २०२६ मा ‘स्ट्रङ हाइब्रीड’ को प्रवेश
सन् २०२६ को दोस्रो साता भारतीय बजारमा आउने अनुमान गरिएको एलिभेट हाइब्रीड होन्डाको पहिलो स्ट्रङ–हाइब्रीड मोडल हुनेछ । यसमा १.५ लिटर पेट्रोल इन्जिन र दुई इलेक्ट्रिक मोटर रहने बुझिएको छ । आधिकारिक पावर फिगर सार्वजनिक गरिएको छैन, तर यो मोडलले कम्पनीको हाइब्रीड लाइनअपलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
२. प्रिल्युड कपल – स्पोर्टी हाइब्रीडको नयाँ स्वाद
स्पोर्टी डिजाइनसहित आउने प्रिल्युड हाइब्रीड कपल मा
-
२.० लिटर पेट्रोल इन्जिन (१४१ बीएचपी)
-
इलेक्ट्रिक मोटर
-
फ्रन्ट–व्हिल–ड्राइभ (FWD) को संयोजन रहनेछ । कुल आउटपुट २०० बीएचपी पुग्ने जानकारी छ । भारतमा यसको अनुमानित मूल्य करिब ८० लाख भारतीय रुपैयाँ रहने बताइएको छ ।
३. होन्डा जेआर–भी हाइब्रीड – पावरफुल कम्प्याक्ट एसयूभी
जेआर–भी हाइब्रीडमा
-
२.० लिटर पेट्रोल इन्जिन
-
लिथियम–आयन ब्याट्री
-
दुई इलेक्ट्रिक मोटर रहेको छ, जसले १८० बीएचपी पावर र ३१५ एनएम टर्क प्रदान गर्नेछ । यसमा EV, Hybrid, Engine गरी तीन ड्राइभ मोड उपलब्ध हुनेछ ।
४. नयाँ ७–सिटर हाइब्रीड – प्रिमियम सेग्मेन्टको आकर्षण
होन्डाले प्रिमियम परिवारिक सेग्मेन्ट लक्षित ७–सिटर हाइब्रीड एसयूभी लाई सन् २०२७ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको छ । यो मोडल नयाँ A2 प्लेटफर्ममा आधारित पहिलो एसयूभी हुनेछ र जापान तथा थाइल्यान्डका आर एण्ड डी केन्द्रहरूमा विकास भइरहेको छ ।
हाइब्रीड युद्ध झनै चर्किँदै
होन्डाको यो नयाँ रणनीतिले भारतीय बजारमा हाइब्रीड प्रतिस्पर्धा झनै तीव्र बनाउने देखिएको छ । टोयोटा र ह्युन्डैजस्ता कम्पनीहरू सक्रिय भइरहेका बेला होन्डाले शक्तिशाली लाइनअपमार्फत बजारमा आफ्नो पकड विस्तार गर्ने संकेत दिएको छ ।



