एबीसी आयल इन्डस्ट्रीजको व्यापार तीनगुना उछाल
काठमाडाैं, ८ मंसिर । देशको तेल बजारमा द्रुत रूपमा प्रभाव जमाउँदै आएको एबीसी आयल इन्डस्ट्रीज ले पछिल्लो वर्ष अभूतपूर्व व्यापारिक वृद्धि हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडको विवरणअनुसार कम्पनीको कारोबार एकै वर्ष ३.०८ गुणा बढ्दै ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
यो आँकडा सन् २०२४ मा भएको १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ को कारोबारभन्दा उल्लेखनीय रूपमा माथि छ । निर्यातमैत्री वातावरण, कच्चा तेल आपूर्ति सुदृढता र बजार विस्तारले कम्पनीको कुल कारोबारमा ठूूलो उछाल आएको विश्लेषण गरिएको छ।
स्थापना, उत्पादन र क्षमता
सन् २०२१ मा स्थापना भएको एबीसी आयल इन्डस्ट्रीजले २०२२ मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । अहिले कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भइसकेको छ ।
कम्पनीको वार्षिक प्रशोधन क्षमता ६० हजार मेट्रिक टन रहेको छ ।
यसअन्तर्गत:
-
३६ हजार मेट्रिक टन पाम तेल
-
१२ हजार मेट्रिक टन सनफ्लावर तेल
-
१२ हजार मेट्रिक टन भटमास तेल
प्रशोधन गर्ने क्षमता कम्पनीले राख्छ ।
कच्चा तेल आयात र निर्यात
एबीसी आयलले कच्चा तेल इन्डोनेसिया, मलेसिया, रुस, अर्जेन्टिना, चीन र युक्रेनबाट आयात गर्छ । प्रशोधनपछि उत्पादन भएको तेल नेपालका साथै भारतमा पनि ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।
गत वर्ष भारतले कच्चा तथा प्रशोधित तेलमा भन्सार वृद्धि गरेपछि नेपाली प्रशोधन उद्योगहरूलाई प्रत्यक्ष फाइदा पुगेको थियो ।
-
कच्चा सनफ्लावर तेलमा २०% भन्सार वृद्धि
-
प्रशोधित तेलमा ३२.५% भन्सार वृद्धि
यसले नेपाली उद्योगको प्रतिस्पर्धात्मकता बढाएको थियो ।
तर, अहिले भारतले कच्चा तेल भन्सार १०% मा झारेको र प्रशोधित तेलको आयात शुल्क २७.५% बाट १६.५% मा घटाएको कारण आगामी महिनामा व्यापार प्रवाहमा केही उतार–चढाव आउन सक्ने अनुमान गरिएको छ ।
कम्पनीको व्यवस्थापन र कर्जा रेटिङ
कम्पनी हाल अध्यक्ष सञ्जय कोइरालाको नेतृत्वमा संचालन हुँदै आएको छ ।
कम्पनीले कर्जा सुविधाका लागि २ अर्ब ६० करोड २५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा
-
३० करोड २५ लाख रुपैयाँ दीर्घकालीन कर्जा
-
२ अर्ब ३० करोड रुपैयाँ अल्पकालीन कर्जा
शामिल छन् ।



