जर्मनीसँग ७ अर्ब ५० करोड रुपैँयाको सहयोग सम्झौता
काठमाडौं, ६ असोज । जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि वित्तीय तथा प्राविधिक सहायता गरी यूरो ५ करोड ५६ लाख (करीब ७ अर्ब ५० करोड नेपाली रुपैया) बराबर अनुदान सहायता दिने भएको छ । यसैगरी उर्जा दक्षता कार्यक्रम अन्तरगत लेखनाथ दमौली २२० केभी प्रसारण लाईन परियोजना निर्माणको लागि थप १ करोड ५० लाख यूरो सहित जम्मा ३१ मिलियन यूरो अनुदान सहायता प्रदान गर्ने संझौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता जर्मनीको बर्लिनमा सेप्टेम्बर १९ र २० मा सम्पन्न भएको थियो ।
सहयोग सम्बन्धि उक्त संझौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाट केएफडब्लु विकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यास्मिन ताफिकले हस्ताक्षर गर्नु भएको थियो ।
उक्त वार्तामा जर्मनी सरकारबाट उर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिदै थप आयोजनाको लागि समेत प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रालय अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखसमेत रहेका सहसचिव नेपालले बताए ।
जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय उर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भुकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकासका क्षेत्रमा प्राप्त सहयोगको लागि नेपाली पक्षबाट प्रशंशा गरिएको थियो । ।
वार्ताकै क्रममा नेपाली प्रतिनिधिमण्डलले बर्लिन हाउस अफ रिप्रिजेन्टेटिभका सदस्य डा. रोविन जुहन्के तथा फेडरल रिप्रिजेन्टेशन अफ द फेडरल स्टेट अफ नर्थ राइन वेस्टफालिया का पदाधिकारी लगायतसंग शिष्टाचार भेट गरी संघीयता कार्यान्वयनको सम्बन्धमा जर्मनीको अनुभवबारे छलफल गरेको थियो ।
वार्ताको सूरुमा जर्मनी सरकारको तर्फबाट एसिया महानिर्देशनालयका प्रमुख जिसेला हामरसीमित तथा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनाल ले नेपाल र जर्मनीबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको विषय स्मरण गर्दै द्वीपक्षीय सम्बन्ध तथा सहयोग थप मजबुत भएको सम्बन्धमा चर्चा भएको थियो। उक्त वार्तामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल तथा जर्मनी सरकारको तर्फबाट आर्थिक सहयोग तथा विकास मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख डा. ओल्फाम क्लीन को नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको जर्मनीस्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।