हङकङ हाउजिङ कम्प्लेक्समा आगो: उद्धार जारी
काठमाडाैं, ११ मंसिर । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै पूर्ण रूपमा निभेको छैन। विशेषगरी वृद्ध बासिन्दा रहने उक्त कम्प्लेक्सका केही भवनहरू अझै जलिरहेका छन्। यो आगलागी दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक घटनाका रूपमा वर्णन गरिएको छ।
स्थानीय समयअनुसार बुधबार २:५१ बजे आगलागी सुरु भएको थियो। अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको छ भने धेरैको अवस्था अझै अज्ञात छ। साथै ४५ जना गम्भीर घाइते भएका छन् र २७९ जनाको अवस्था अज्ञात भएकाले उद्धारकर्मीहरू सक्रियतापूर्वक खोजीमा जुटेका छन्।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ। यस घटनासँग सम्बन्धित निर्माण कम्पनीका दुई निर्देशक र एक सल्लाहकारलाई गैरइरादतन हत्याको आशंकामा पक्राउ गरिएको छ। प्रहरीले ती तीन जनामाथि गम्भीर लापरवाही गरेको आरोप लगाएको छ।
उद्धार कार्य जारी रहँदा अधिकारीहरूले हराइरहेका बासिन्दाको खोजीलाई प्राथमिकता दिएका छन्। यो घटनापछि हङकङ सरकारले सुरक्षा मापदण्ड कडा गर्ने प्रतिबद्धता जनाएको छ र स्थानीय समुदायलाई सुरक्षित स्थानमा लैजाने प्रयास जारी छ।



