पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष रौनियार सहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्धा
काठमाडौं, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबइ पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरी लापरबाही गरेको अभियोगमा विशेष अदालतमा ९० करोड ८ लाख ९२ हजार रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायरसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद् रौनियार निलम्बनमा परेका छन् । डिभिजन सडक कार्यालय नेपालगञ्जले २०६८ असार २२ गते सम्झौता गरी रौनियारको पप्पु कन्स्ट्रक्सनलाई बबइ पुल निर्माणको जिम्मा दिएको थियो । त्योल पुल सरकारलाई हस्तान्तरण नगर्दै भासिएको थियो । गम्भीर लापर्बाहीलाई सच्याउनुको साटो गुपचुप रुपमा स्वीकार गरेको, फिल्डको नापजाँच हचुवाका भरमा गरेको, निर्माण सामग्री गुणस्तरहीन भएको तर गुणस्तर प्रमाणित नभइ भुक्तानी सिफारिस गरेको, पिलर डिजाइन विपरित भएको अख्तियारको अभियोग छ ।
अख्तियारले सांसद रौनियारसँग १९ करोड ३२ लाख २५ हजार र उनका छोरा सुमितसँग पनि त्यति नै रकम विगो दाबी गरेको छ । यस्तै, डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख मनोज श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादव, निमित्त डिभिजन प्रमुख नवराज केसी, इन्जिनियरहरु हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट र प्रेमप्रसाद चुवाइ, सव इन्जिनियर कर्मा तेन्जिङ तामाङ र गोविन्द गैरे तथा परामर्शदाता कम्पनीका सञ्चालक कृष्णदेव यादवविरुद्ध ५१ करोड ४४ लाख ४१ हजार विगो दाबी गरिएको छ ।
पप्पुले निर्माणको जिम्मा लिएका अधिकांश पुल तथा सडक अलपत्र भएपनि सरकारले कारवाही गर्नुको साटो उल्टै थप जिम्मा दिँदै आएको छ ।