आवास बीमा प्रिमियमदर परिमार्जन गर्दै बीमा समिति, निजी आवास मूल्यको थ्रेसहोल्ड बढाइने
काठमाडौं, १९ कार्तिक । बीमा क्षेत्रको नियामक बीमा समितिले आवास बीमाको प्रिमियम दर परिमार्जन गर्न लागेको छ । धेरै घरधनीहरुले घरको बीमा गरुन् भनेर प्रिमियम दर पुनरावलोकनको तयारी भैरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
अहिले व्यावसायिक आवास निर्माण गर्नेहरु र बैंकको ऋण लिएर घर निर्माण गर्नेहरुले मात्र बीमा पोलीसी खरिद गरिरहेका छन् । तर वित्तिय संस्थाबाट ऋण नलिएकाहरुले प्राकृतिक प्रकोप, आगलागी, चोरीडकैतीको सुरक्षणका लागि बीमा गराएका छैनन् । पौडेलले अहिलेको प्रिमियम दर घटाए धेरै घरधनीहरु घरको बीमा गरि लाभ लिनसक्ने उल्लेख गरे ।समितिका अनुसार अहिलेसम्म वैदेशिक रोजगारमा जानेसहित कुल १४ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच रहेको छ । यी मध्ये घरको बीमा गर्नेहरुको संख्या नगण्य रहेको पौडेलले जानकारी दिए ।
सरकारी परिभाषा अनुसार एक करोड रुपैँयाभन्दा माथिको संरचना व्यववसायिक भवन मानिन्छ । त्यसले गर्दा पनि निजी आवासको बीमा भइरहेको छैन । सहरी क्षेत्र खासगरी उपत्यकामा एउटा सामान्य निजी घरको मूल्य करोड रुपैँया हुन्छ । पौडेलले यो नियम परिवर्तन गरी २ करोड रुपैँयाभन्दा माथिको भवनलाई मात्र व्यावसायिकको परिभाषामा समेट्ने गरी नियमावली संशोधनको तयारी भैरहेको बताए । त्यस्तै अहिले घरको बीमाको प्रिमियम वार्षिक १६,००० रुपैँया छ । यसलाई पनि छिट्टै घटाइने तयारी भैरहेको छ ।
यसका लागि बीमा समितिले पाँचसदस्यीय समिति गठन गरी काम अघि बढाएको छ । जसमा बीमा समितिका उपनिर्देशक सुशीलदेव सुवेदीको समितिले काम गरिरहेको छ । पहिलो चरणमा यो नीति सहरी क्षेत्रमा मात्र लागू गर्ने समितिको तयारी छ । अहिले अग्नि बीमा अन्तर्गत घरहरुको बीमा हुँदै आएको छ । कार्यकारी निर्देशक पौडेलका अनुसार चाँडै यसलाई सम्पत्ति विवरण अन्तर्गत बीमा गरिने व्यवस्था मिलाइनेछ । निजी घरहरुको बीमा अत्यन्त कम हुन्छन् भन्ने पछिल्लो प्रमाण हो, २०७२ सालको महाविनाशकारी भूकम्प । जसमा ८ लाख घरहरु ध्वस्त भएकोमा १७,६५८ हजार मात्र बीमा दाबी परेको थियो । जसको मूल्य १८ अर्ब ४० करोड रुपैँया रहेको थियो । बीमा समितिले सोही समयदेखि आवास बीमाको थ्रेसहोल्ड र प्रिमियम घटाउने सोच बनाएको पौडेलले बताए ।