संसदको हिउदो अधिवेशनको पहिलो बैठकमै कर्मचारी समायोजन अध्यादेश पेश हुदैं
काठमाडौं, ११ पुस । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुदैछ । प्रतिनिधि सभा आजबाट शुरु हुने हिउदे अधिवेशनको पहिलो बैठकमै कर्मचारी समायोजन अध्यादेश पेश गरिने छ। सरकारले कर्मचारी समायोजनलाइ अघि बढाउन संसद स्थगन भएको अवस्थमा ल्याएको समायोजन अध्यादेश समान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले संसदमा पेश गर्ने कार्य सूची रहेको संसद सचिवालयले जनाएको छ । अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा अध्यादेश पेश गर्नु पर्ने संवैधानिक ब्यवस्था छ ।
हिउँदे अधिवेशनको पहिलो दिन बुधबार प्रतिनिधिसभामा दुई वटा बैठक बस्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ। यस्तै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा भने संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक पारित गरिने कार्यसूची छ। आजै बस्ने राष्ट्रियसभामा बैठकमा पनि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय रहेको छ।