कता हराए १ लाख घरेलु तथा साना उद्योगहरु ?

दिलु कार्की काठमाडौं,१५ पुस । सरकारले आम नगारिकलाई स्वरोजगार बनाउने नीति ल्याइरहदा घरेलु तथा साना उद्योगीहरुको संख्या भने घटदै गएको छ । घरेलुमा दर्ता भइ संचालनमा आएका ३ लाख घरेलु उद्योगहरु मध्ये जम्मा २ लाख घरेलु उद्योग मात्र नविकरण भएको तथ्याङ्क बाहिर आएको छ । नेपालमा ३ लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा पछिल्लो बर्ष जम्मा २ लाख ६४ हजार मात्र नवीकरणमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
यसरी घरेलु उद्योगको संख्या घटदै जानुमा त्यसको व्यवस्थापन, संचालन, उत्पादनको बजारीकरण र लगानीको अभावका मुख्य कारण रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी निर्देशक चुडामणि भट्टराईले बताए । कुल ३५ हजार ३ सय करोड रुपैयाँ लगानी रहेको घरेलु उद्योगको विकासमा सरकारको उचित ध्यान नपुग्दा घरेलु उद्योगको संख्या दिन प्रतिदिन घटदै गएको भट्टराईको भनाई छ ।
बजारपहुँच तथा उद्यमशीलताको सम्मान नभएको कारण पनि यस्ता उद्योगहरुबाट उद्यामीहरु विस्तापित हुदै गएको महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले बताए । ‘३ लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएका थिए अहिले १ लाख घटेर नविकरण भएका छन् । यसरी नविकरण भएका उद्योग पनि कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण छैन । प्रजापतिले थपे ।
साना तथा घरेलु उद्योगमा लगानीको वातावरण नभएको कर्जा अनुदान लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महासंघको बताएको छ । उद्योगीहरुमा वित्तिय पहुँच, बजार विस्तार, दक्ष कामदार, सीप तथा तालिमको सधै अभाव रहेको हुँदा सरकारले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको महाँसंघले जोड दिएको छ ।
पछिल्लो समय सरकारले कृषि, ग्रामिण अर्थतन्त्र तथा लघु उद्यमशिलताको विकास गर्ने विभिन्न कार्यक्रम नीति तथा योजनाहरु अघि ल्याएको छ । जस अन्तर्गत महिला उद्यमशिलता विकास कोष मार्फत १५ लाख रुपैयाँ सम्म परियोजनामा आधारित ऋण ६ प्रतिशत ब्याज अनुदान, दलित समुदाय व्यवसाय कर्जा सामुहिक जमानीमा प्रति समुह १० लाख रुपैया सम्म ऋण र ५ प्रतिशत व्याज अनुदानको व्यवस्था गरिएको छ । ५ करोड रुपैयाँ सम्म व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा, शैक्षिक प्रमाण पत्र धितो राखी युवालाई ५ प्रतिशतमा ७ लाखसम्म ऋण, बिदेशबाट फर्केका युवाहरुको सिप प्रमाणिकरण गर्ने र व्यवसाय सञ्चालनका लागी परियोजनामा आधारित १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने योजना रहेको छ । साना तथा घरेलु उद्योग प्रतिको घट्दो आकर्षणले त्यसको प्रभावकारीतामा प्रश्न उठाइदिएको छ ।
हाल संचालनमा रहेका घरेलु उद्योगमध्ये सेवा मूलक उद्योगमा ४५ प्रतिशत, ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी रहेको महासंघको तथ्यांकले देखाएको छ । महासंघका अनुसार सबै भन्दा बढी ३७ प्रतिशत उद्योग ३ नंम्बर प्रदेशमा सञ्चालनमा छन् । यस्तै प्रदेश नम्बर ५ मा १७ प्रतिशत, प्रदेश नम्बर १ मा १४ प्रतिशत, प्रदेश नम्बर ४ मा ९ प्रतिशत, सुदूरपश्चिममा प्रदेशमा ६ प्रतिशत र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चालनमा रहेका छन् ।
सन २०१५ देखी २०२५ सम्म अमेरिकाले नेपालबाट नि¥यात गरिने ७७ वटा वस्तुहरुमा भन्सार नलिने घोषणा गरेको थियो तर नि¥यात क्षमता र सम्भावना भएर पनि नेपालबाट पश्मिना लगायत अन्य उत्पादन न्यून मात्रै निर्यात भइरहेको छ । नेपाल सरकारको सार्वजनिक निकायमा स्वदेशी वस्तु उपयोग निर्देशिकामा १५ प्रतिशतसम्म बढि मुल्य भएतापनि उपलब्ध भएसम्म स्वदेशी नै खरिद गर्नुपर्ने उल्लेख गरिएको छ । यसका साथै चालु आर्थिक बर्षको बजेटमा बिदेश स्थित सबै कुटनैतिक नियोगमा स्थायी प्रदर्शनी कक्ष स्थापनाका लागी बजेट व्यवस्था गरिएको छ भने काठमाडौमा हस्तकला बिक्री तथा प्रदर्शनी केन्द्र स्थापनाको व्यवस्था गर्ने र सबै प्रदेशमा प्रदर्शनी केन्द्र स्थापनाको व्यवस्था गर्ने उल्लेख गरिएको छ । यसका साथै सरकारले लघु उद्यमीलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी सम्मान, राष्ट्रपति महिला उत्थान कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमहरु र उत्पादीत वस्तुको मुल्य निर्धारण तथा बजारीकरणको राम्रो व्यवस्था गरि दिन आवश्यक छ ।
नेपालको औद्योगीक क्षेत्रको विकास लागी ठुला उद्योगहरुको विकास मात्र नभएर लघु घरेलु तथा साना उद्योगहरुको विकास गर्न आवश्यक देखिन्छ । ग्रामिण अर्थतन्त्रलाई विकास गर्दै कृषि तथा लघु घरेलु उद्योगमा लगानी गर्न सकिएमा रोजगारि र आर्थिक सवलीकरणको प्रवल सम्भावना यस क्षेत्रमा रहेको छ । हाल सम्म नेपालका २ लाख भन्दा बढी लघु घरेलु साना उद्योगमा २४ लाख ६६ हजार भन्दा बढीले रोजगार पाएका छन् भने यस्ता उद्योगहरुमा ३५ हजार सदस्यहरु आबद्ध रहेकामा ११ लाख भन्दा बढी महिला उद्यमीहरु संलग्न रहेका छन् ।