निर्वाचन बन्यो यातायात व्यवसायीका लागि दशैं
पूर्ण प्रसाद चौलागाई, २०७४ मंसिर १९, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आसन्न निर्वाचनमा मतदानका लागि काठमाडौंबाट बाहिरिनेहरुको संख्या उच्च छ । यातायात व्यवसायीहरुका अनुसार मंसीर १५ देखि मंसीर २० गतेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनहरुमा करिब १५ लाख बुकिङ रहेको यातायात व्यावसायीहरुले जनाएका छन् । यसअघि ३२ जिल्लामा सम्पन्न पहिलो चरणको निर्वाचनमा करिब ५ लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए । तर दोस्रो चरणका निर्वाचनमा भने काठमाडौं छाड्नेहरु व्यापक बढेको यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
लामो तथा छोटो दूरीमा चल्ने रुटका बसहरुबाहेक राजनीतिक दलहरुले केही सवारी साधन रिजर्भ गरेर मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा ओसारीरहेका छन् । मतदानका लागि बाहिरिनेहरुको संख्या हेर्दा यसपटक उत्साहजनक ढंगले मतदान हुने महासचिव सिटौला बताउँछन् । ‘यातायात व्यावसायीहरुका लागि यात्रुको चाप दशैंको समयमा एकसाथ धेरै यात्रुहरुलाई गन्तव्यमा ल्याउनुपुर्याउनु पर्दा हुने गथ्र्यो,’ उनले भने, ‘अहिले पनि त्यस्तै चाप छ ।’
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ हुन लागेकाले धेरै उम्मेद्वारका धेरै मतदाता सम्पर्कमा छन् भने लागत पनि आपसमा बाँडिने भएकाले यसपटक यसअघिका आवधिक निर्वाचनहरुमा भन्दा उल्लेख्य मतदाताहरु आ—आफ्ना मतदानस्थलसम्म पुगिसकेका छन् । निर्वाचनपछि काठमाडौं फर्कनेहरुको चाप पनि उसैगरी बढ्ने भएकाले निर्वाचन यातायात व्यावसायीहरुका लागि दशैंसरह भएका व्यावसायीहरु बताउँछन् ।
महासंघका अनुसार, काठमाडौंबाट लामो तथा छोटो दूरीमा मंसीर १५ देखि २० गतेसम्मको अवधिमा करिब ३,५०० को संख्यामा सवारीसाधन बाहिरिने छन् । काठमाडौं उपत्यकामै पनि रुटका सवारी साधनहरु कम देख्न पाइन्छ । रुटमा चल्ने सवारीसाधनहरु राजनीतिक पार्टीको चुनावी अभियानका लागि रिजर्भमा लिइएका छन् । यसरी रिजर्भमा लिइएका सवारीसाधन कतिपय काठमाडौं बाहिर पनि पठाइएको व्यावसायीहरु बताउँछन् ।