एडीबीको सहयोगमा अहिलेसम्मकै उच्च क्षमताको वायु तथा सौर्य उर्जा मिश्रित प्रणाली सञ्चालनमा
काठमाडौं, मंसीर २७ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अहिलेसम्मकै उच्च क्षमताको वायु तथा सौर्य उर्जा मिश्रित प्रणाली सञ्चालनमा आएको छ । सिन्धुली र मकवानपुर जिल्लाको सीमाना हरिहरपुर गाउँपालिका—१ का ८५ घरधुरीलाई उर्जाको पहुँच हुनेगरी सञ्चालनमा आएको उक्त परियोजनाको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा तथा एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
विद्युत्को पहुँच नपुगेको यस क्षेत्रमा १०—१० किलोवाट क्षमताका दुई हावाबाट चल्ने टर्वाइन र १५ किलोवाट क्षमताको सौर्य उर्जा प्रणाली जडान गरिएको छ । जसबाट यहाँका समुदायले खपत गरेर पनि बढी हुने विद्युत् उत्पादन भईरहेको छ । उक्त परियोजना एडीबीले सासेक परियोजना अन्तर्गत निर्माण गरेको हो ।
परियोजनाको उद्घाटन गर्दै एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभले यस परियोजनाले ग्रामीण, दुर्गम समुदायमा स्वच्छ, विश्वसनीय र सस्तो विद्युत् आपूर्ति गर्न सफल भएको र यसले ग्रामीण भेगमा आयआर्जनका सम्भावनाहरुका लागि समेत बाटो खोलेको बताए ।
यो परियोजना एक करोड ६२ लाख डलरको लागतमा तयार गरिएको हो । सरकार र स्थानीयले पनि यसमा योगदान गरेका छन् भने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यो परियोजना कार्यान्वयन गरेको हो । ६ वर्षअघि एडीबीले नवलपरासी जिल्लाको धौवडीमा यस्तै परियोजना सञ्चालनमा ल्याएको थियो ।