नेपाल विश्वको एक सयौं खुशी देश, दक्षिण एशियामा तेस्रो
काठमाडौं, ७ चैत । नेपालीको खुशीको स्तर बढेको छ । संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’ले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०१९’ अनुसार ४ दशमलव ९१३ अंकसहित नेपाल विश्वको एक सयौं खुशी देशका रूपमा देखिएको छ ।
गतवर्ष ४ दशमलव ८८० अंकसहित नेपाल विश्वको १०१ औं खुशी देशका रूपमा थियो । नेपालभन्दा माथि र तल क्रमशः ४ दशमलव ९४४ अंक र ४ दशमलव ९१३ अंकसहित आइभोरी कोस्ट र जोर्डन छन् ।
गतवर्षको प्रतिवेदनमा जस्तै यस वर्ष पनि नेपाल दक्षिण एशियामा तेस्रो खुशी राष्ट्रका रूपमा छ । खुशीको मामिलामा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा माथि छ । पाकिस्तानको खुशी स्तर ५ दशमलव ६५३ अंक छ । गत वर्षको तुलनामा यस वर्ष सूचीमा पाकिस्तान ८ स्थान उक्लिँदै ६७ औं स्थानमा पुगेको छ ।
पाँच दशमलव शून्य ८२ अंकसहित भुटान ९५औं स्थानमा छ । बंगलादेश, श्रीलंका, भारत र अफगानिस्तान क्रमशः १२५, १३०, १४० र १५४औं स्थानमा छन् । प्रतिवेदन विश्वका १ सय ५६ देशमा गरिएका सर्वेक्षणहरूको विश्लेषणबाट तयार पारिएको हो । यसमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन , दानको भावना, सामाजिक सुरक्षा, औसत आयु, लगायत ७ तत्त्वका आधारमा देशहरूलाई सूचीकृत गरिएको छ ।