पुनर्निर्माणलाई तीब्रपार्न कानुनी बाधा फुकाउन विज्ञहरुको सुझाव
काठमाडौं, १२ बैशाख । विज्ञहरुले भुकम्पछिको पुनर्निर्माणलाई तीब्र बनाउन कानुनी बाधा फुकाउनुपर्ने सुझाव दिएका छन् । मानव अधिकार उद्यान र यूनिक स्टार एजुकेशन फाउण्डेशनले भुकम्प गएको ४ बर्ष भएको सम्झनामा काठमाडौमा गरेको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन ।
कार्यक्रममा गोरखा भूकम्पका विषयमा विद्यावारिधि गरेका डा.ज्योति कोइरालाले नेपालमा भूकम्पको सम्भावना, सम्भावित मानविय र भौतिक क्षति न्यूनिकरणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका निर्देशक समितिका सदस्य निमानन्द रिजालले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणको काम केही सुस्त देखिएपनि सरकार र प्राधिकरणले भूकम्पबाट क्षति भएको ऐतिहासिक र पुरातात्विक महत्वका भवनहरुको निर्माणमा गति दिइएको जानकारी दिए ।
त्यस्तै अधिवक्ता सुमन आचार्यले पुनर्निर्माणलाई तिब्रपार्न सरकारले आवश्यक कानुनी बाधा फुकाई ऐन संशोधन गर्नुपर्ने भए तत्काल संशोधन गर्नुपर्ने र आवश्यक निति निर्माण गर्नुपर्ने बताए । सो अवसरमा यूनिक स्टार एजुकेशन फाउण्डेशनलका अध्यक्ष रामचन्द्रप्रसाद यादव, नगार्जुन कलेजका प्राचार्य नुच्छेबहादुर महर्जन र सञ्चारविध मधुसुधन न्यौपानेले समेत भूकम्पका विविध आयामका विषयमा धारणा राखेका थिए ।