नेपाल लाईफ इन्स्योरेन्सले २५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने
काठमाडौं, ५ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ। हिजो बीरगंजमा सम्पन्न उन्नाइसौं बार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्व ४९ करोड ९६ लाख रुपैयाँ हुने छ ।
सभाबाट गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु पनि स्वीकृत गरिएको छ। समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हाँसिल गर्न सफल भएको दाबी गरिएको छ ।
हाल कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र सेयरधनी कोष १० अर्ब ४० करोड रुपैयाँ भन्दा बढी रहेको छ । कम्पनीमा १ लाख २२ हजार भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको र स्वदेश र विदेश गरी झण्डै २५ लाखले कम्पनीमा बीमित भइसकेको जनाइएको छ।