यूनिट्राभद्वारा पर्यटन मजदुरको शोषण गर्ने कम्पनीमा तालाबन्दीको चेतावनी
काठमाडौं, २६ जेठ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकाँश व्यवसायीले मजदुरमाथि शोषण गरिरहेको भन्दै नियमसंगत कार्य गर्ने श्रमिकलाई कानूनअनुरुपको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गरे ।
सरकारले नै कानून उल्लघन गरेको आरोप लगाउँदै अध्यक्ष पराजुलीले श्रमशोषण गर्ने सरकारी निकाय र व्यवसायीक संस्थामा तालाबन्दी गरिदिने चेतावनी दिए । अध्यक्ष पराजुलीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मजदुरको सहयोग बीना पर्यटन क्षेत्र सफल हुन नसक्ने भन्दै संगठनले पर्यटन क्षेत्रमा अप्रिय अवस्था नआयोस् भन्नका लागि बेलैमा सोच्न पनि सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन (जिफन्ट) का महासचिव जनक चौधरीले ट्रेड यूनियन अधिकारका लागि मुख ताक्ने होइन नेतृत्व गर्न र नीति बनाउने तहमा पुग्न पर्यटन श्रमिकहरुलाई निर्देशन दिए । त्यस्तै, कार्यक्रममा नाट्टाका अध्यक्ष सिएन पाण्डेले श्रमिकको कार्यक्षमता वृद्धि गर्न सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने संस्थाको योजना रहेको बताए ।