मेलम्ची खानेपानीको मजदूर र सामान आपूर्तिकर्ताको १ अर्ब ६७ करोड भुक्तानी हुन बाँकी
काठमाडौं, २२ असार । मेलम्ची खानेपानी आयोजानको इटालियन कम्पनी सीएमसीसँग सम्झौता गरी आयोजनाको काम गरेका सामान आपूर्तिकर्ता र मजदूरको १ अर्ब ६७ करोड ७ हजार १९ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । मेलम्ची खानेपानी सीएमसी भुक्तानी अवरोध अध्ययन तथा सहजीकरण कार्यदलले गरेको अध्ययनबाट उक्त रकम भुक्तानी हुन बाँकी देखिएको हो ।
गत असार ११ मा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा आपूर्तिकर्ता, मजदूर र सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ११ सदस्यीय कार्यदल गठन भएको थियो । पाँचबुँदे सिफारिससहित कार्यदलले प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनमा ८८ सामान आपूर्तिकर्ता र ८२५ मजदूरको भुक्तानी बाँकी रहेको उल्लेख छ । पीडित मजदूरहरूले कार्यदल समक्ष सीएमसीसँग भएको सम्झौता बमोजिम सञ्चित बिदा, उपदान, सञ्चयकोष र ‘नोटिस पे’ बापतको रकमका साथै बाँकी महिनाको तलब उपलब्ध गराइदिन माग गरेका थिए । यस्तै, नयाँ ठेकेदार कम्पनीलाई काम लगाउँदा आफूहरूलाई त्यसअन्तर्गत अवसर दिलाउन र विगतमा निर्माण कार्यमा संलग्न हुँदा दुर्घटनामा परेर अंगभंग भएका मजदूरको क्षमता र दक्षताका आधारमा रोजगारीका लागि समन्वय गरिदिन पनि उनीहरूले माग गरेका छन् ।
भुक्तानी नै नदिई काम छाड्ने सीएमसीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा नेपाल सरकारले प्रतिवाद गर्नुपर्दा आयोजनालाई बाँकी भुक्तानी दाबीसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराई सहयोग गर्न तयार रहेको आपूर्तिकर्ताहरूले बताएका छन् ।