आर्थिक वर्ष सकिन एक साता बाँकी, विकास बजेट खर्च ५६ प्रतिशत मात्र
काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष सकिन अव एक साता मात्र बाँकी छ । यो अवधीमा विकास निर्माणका लागि छुट्याइएको कुल बजेटको ५६.३५ प्रतिशत मात्र खर्च भएको छ। पहिलो छ महिनाको समिक्षा गर्दै सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ६५ अर्व २६ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो ।
तर महालेखानियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सोमबारसम्म १ खर्ब ७६ अर्व ९३ करोड ३० लाख रुपैयाँ मात्र विकास बजेट खर्च भएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडा भने भुक्तानी हुन बाँकी रहेको कारण विकास खर्च कम देखिएको बताउछन् । ‘अंकमा हेर्दा पुँजीगत खर्च पछाडि जस्तो देखिन्छ । तर त्यो खर्चको ठुलो अंश काम भएको र भुक्तानी हुन बाँकी रहेको छ ।’ उनले भने, ‘जहाँ आयोजनाका कामहरु अघि बढिसकेका छन् । भुक्तानीको काम बाँकी छ । ति भुक्तानीको कामहरुका लागि असार महिना पर्खने प्रबृतीले गर्दा यस्तो भएको हो ।’
उनले भुक्तानीको लागि निर्माण कम्पनी वा बस्तु तथा सेवा खरिद भएका कम्पनीहरुलाई दावी गर्न र दावी अनुसारको भुक्तानी दिन सम्बनिध निकायलाई आफुले निर्देशन दिइसकेको जानकारी दिए । ‘भुक्तानीका लागि असार महिना कुर्नुपर्ने परिस्थतीको अन्त गर्न निर्माण व्यवसायीहरुले बिल विजक अनुसारको दावी गरिहाल्ने र त्यसरी आएको बिल विजकहरुलाई तत्काल भुक्तानी निकासा गरिदिन निर्देशन दिएको छु ।’ उनले भने ।
अन्त सम्ममा लक्ष्य अनुसार नै खर्च हुने दाबी पनि मन्त्री खतिवडाले गरे ।
प्राय ः हरेक वर्ष आर्थिक वर्षको अन्ततिर विकास खर्च बढाउन सरकारलाई निकै चाप पर्ने गरेको देखिन्छ । बजेट कार्यान्वयनमा समस्या आएको भन्दै संविधानमै वार्षिक बजेट पेश गर्ने समय जेठ १५ लाई तय गरिएको छ। तर पनि विकास खर्चको खवस्था निराशाजनक छ । अझ पछिल्लो समय दुई तिहाईको सरकारले पनि विकास निर्माणलाई तीब्रता दिन नसक्नु र भुक्तानीको व्यवस्थापन समेत समयमै गर्न नसक्नु दुखद भएको अर्थविद्हरु बताउछन् ।
केन्द्र सरकारको मात्र होइन प्रदेश सरकारको पनि विकास खर्चको अवस्था निराशाजनक छ । सातवटा मध्ये अधिकांश प्रदेशको विकास बजेट खर्च ५५ प्रतिशत भन्दा कम छ ।