भारतबाट नेपालमा सडेगलेका तरकारी भित्रिए
काठमाडौं, २४ असार । सरकारले केही दिन अघि भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा बढी भएको भन्दै परीक्षणका लागि नाकामा कडाइ ग¥यो । जसको कारण भारतबाट नेपाल तरकारी र फलफूल बोकेर आएका गाडीहरु नाकामै थन्किए ।
कडाई गरेको ४८ घण्टा नवित्दै सरकारले परीक्षणका लागि आवश्यक उपकरणको अभाव रहेको भन्दै हालका लागि विषादी परीक्षण स्थागित गर्ने निर्णय ग¥यो । त्यसपछि नाकामै रोकिएका मालवाहक गाडीहरु नेपाल भित्रिए । गर्मीको सिजनमा दुई दिनसम्म नाकामा थन्किएका तरकारी एवं फलफूल किन्न नेपाली व्यापारीहरुलाई बाध्य पारिएको छ।
भारतबाट नेपालमा झण्डै २ सय देखि २ सय ५० टनसम्म तरकारी जन्य सामग्रीहरु आउने गरेका छन् । सबैभन्दा बढी मात्रामा आलु, प्याज र कागती आएपनि उत्तिकै मात्रामा हरियो तरकारी र फलफूलपनि आयात हुने गरेको छ ।
विशेष गरी अहिले भारतबाट चाँडो विग्रने सामग्रीको रुपमा गोलभेडा आउने गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरु नाकामा रोकेर राखिएको कारण सडेगलेका तरकारीहरु समेत किन्न बाध्य पारिएको बताउछन् । व्यापारी रोमन भट्टराईले भने–‘पहिलेको तुलनामा अहिले कुहिएका गोलभेडाहरु आउने गरेका छन् । हामीले ती गोलभेडाहरु खरिद गरिदिएन भने अर्काे पटक उनीहरुले नदिन सक्छन् । त्यसकारण आधाजसो विग्रिएका भएपनि हामीले ती गोलभेडा पहिलेकै मूल्यमा राख्ने गरेका छौं ।’ त्यस्तै नाकामा रोकिएका गाडीहरुमा तरकारी तथा फलफूलहरु कुहिएर बिग्रिएको गुनासो कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बढी मात्रामा आउने गरेको पाईएको छ ।
बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार सरकारको तत्कालिन निर्णयले व्यवसायीलाई असर परेको छ । तर, सरकारले गरेको निर्णय जायज भएको उनले अर्थको अर्थलाई जानकारी दिए । उनी भन्छन्–‘सरकारले गरेको निर्णय व्यवसायीले मान्नु पर्दछ । सरकारको लक्ष्य विषादी रहित तरकारी तथा फलफूल सर्वसाधारणलाई उपभोग गर्ने वातावरण बनाउनु हो ।’