चीनको ह्वासीन सिमेन्टले १४ करोड डलर लगानी गर्ने
काठमाडौं, पुस १३ । चिनियाँ सरकारी स्वामित्वको ह्वासीन सिमेन्टले नेपालको नारायणी सिमेन्ट प्रालिसँग मिलेर ह्वासीन सिमेन्ट नारायणी प्रालिमा १४ करोड डलर लगानी गर्ने सम्बन्धमा लगानी बोर्डसँग प्रारम्भिक सम्झौता भएको छ । चीनको सरकारी सिमेन्ट कम्पनीबाट आउन लागेको प्रत्यक्ष वैदेशिक लगानी प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्डको बैठकले स्वीकृत गरेसँगै सम्बन्धित पक्षले लगानी भित्र्याउनेछ । यो सिमेन्ट कम्पनीमा शत् प्रतिशत चिनियाँ लगानी रहनेछ भने यसले प्रतिदिन ३,००० बोरा सिमेन्ट उत्पादन गर्नेछ । सिमेन्ट उत्पादन र चुनढुंगा खानीमा गरी कुल १,००० जनाले रोजगारी प्राप्त गर्ने बताइएको छ ।
ह्वासीन सिमेन्टले प्रतिस्पर्धाबाट यसअघि नै खानी लिइसकेको छ । धादिङ जिल्लाको पानीखर्कमा ६० करोडको लागतमा कम्पनीले चुनढुंगा खानी लिएको हो । पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगमा लगानी बढ्दै गइरहेको छ । सरकारले सिमेन्ट उद्योग र खानीसम्म बाटो र सिमेन्ट उद्योगमा निःशुल्क बिजुली दिने प्रबन्ध गरेको छ । अहिले नेपालमा ५० सिमेन्ट उत्पादक छन् भने १७ उद्योगहरुले क्लींकर समेत उत्पादन गर्दै आएका छन् भने धेरैजसोले भारतबाट क्लींकर आयात गरी सिमेन्ट उत्पादन गर्ने गरेका छन् । लगानी बोर्डमा सम्पन्न ह्वासीन सिमेन्टसँगको प्रारम्भिक लगानी सम्झौतामा बोर्डका सीईओ महाप्रसाद अधिकारी र ह्वासीन सिमेन्टका समुद्रपार विकास निर्देशक लिउ साङ्गले हस्ताक्षर गरेका छन् ।