११ महिनामा ७ खर्ब ९९ अर्व विप्रेषण आप्रवाह
काठमाडौं, २३ साउन । गत आर्थिक बर्ष २०७५÷७६ को जेठ महिनासम्म विप्रेषण आप्रवाह ७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि सो अवधिमा विप्रेषण आप्रवाह भने १७.५ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो बर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ती १६.६ प्रतिशतले बढेर ९ अर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लाको सोही अवधिमा भने यस्तो प्राप्ती ०.१ प्रतिशतले मात्रै बढेको थियो । बैदेशिक रोजगारमा जाने संख्या भने घट्दै गएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत वर्षको जेठसम्म बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने श्रम स्वीकृति लिनेको संख्या ८.२ प्रतिशतले घटेको थियो । सरकारले मलेशिया रोजगारी पूर्ण रुपमा बन्द गरेपछि बैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । तर, पुन श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले बढेको थियो ।