Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्जीवन बिमा कम्पनीले करिब २३ करोडको लघुबिमा व्यवसाय गरे

निर्जीवन बिमा कम्पनीले करिब २३ करोडको लघुबिमा व्यवसाय गरे

काठमाडौं, २३ साउन । निर्जीवन बिमा कम्पनीहरुले करिब २३ करोड रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५÷७६ को तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीहरुले २२ करोड ८८ लाख रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेका हुन ।

यो रकम कुल निर्जीवन बिमा व्यवसायको ०.२७ प्रतिशत हो । सो अवधिमा कम्पनीहरुले ८६ अर्ब २ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । उक्त अवधिमा कम्पनीहरुले ६७ हजार २३८ वटा लघुबिमा योजना जारी गरेको बिमा समितिको तथ्यांकमा उल्लेख छ । यो संख्या जारी कुल निर्जीवन बिमा योजनाको करिब ४ प्रतिशत हो । सो अवधिमा कम्पनीहरुले १६ लाख ४७ हजार ८१३ वटा निर्जीवन बिमा योजना जारी गरेका छन् ।

तथ्यांक अनुसार गत आवको चैत महिनासम्ममा एनएलजी इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लघुबिमा व्यवसाय गरेको छ । कम्पनीले ५ करोड ९५ लाख रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेको छ । यो रकम कुल व्यवसाय रकमको ४.९२ प्रतिशत हो । सो अवधिमा कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको थियो । अजोड इन्स्योरेन्स कम्पनीले भने ७९ लाख ४८ हजार रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेको छ । यो रकम कुल बिमा व्यवसायको ३.१७ प्रतिशत हो । कम्पनीले सो अवधिमा २५ करोड ४ लाख रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि आफनो कुल व्यवसायको १ दशमलव ८१ प्रतिशत लघुबिमा व्यवसाय गरेको छ । कम्पनीले सो अवधिमा ९ करोड ३९ लाख रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको छ । जसमध्ये १७ लाख १ हजार रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेको छ ।
न्यून बर्गलाई लक्षित गरी थोरै बिमांक रकमको बिमालाई लघुबिमा भनिन्छ । बिमा कम्पनीले लघुबिमा पुल निर्माण गरी लघुबिमा व्यवसाय गर्दै आएका छन् । अर्थमन्त्रालयले गत आवको बजेट मार्फत कम्पनीहरुलाई आफनो कुल व्यसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्न निर्देशन दिएको छ । तर, कम्पनीहरुले मुश्किलले ५ प्रतिशत पनि लघुबिमा व्यवसाय गर्न सकेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x