हवाई सुरक्षा सम्मेलनमा ४४ देशका प्रतिनिधि सहभागि हुँदै

काठमाडौं,१ भदौं । भोलीदेखि काठमाडौंमा सुरु हुने हवाई सुरक्षा सम्मेलनमा भाग लिन विभिन्न ४४ देशका प्रतिनिधि नेपाल आउन सुरु भएको छ । सम्मेलनको ब्यवस्थापन र तयारीका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओका अधिकारीहरु यसअघि नै नेपाल आइपुगेका छन् । सम्मेलन नेपालमा हुने भए पनि त्यसको तयारी भने आइकाओले गरेको छ । सम्मेलनमा भने एसिया प्रशान्त क्षेत्रका ४४ देशका हवाई महानिर्देशकहरूको मात्र सहभागिता रहने छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका उड्डयन क्षेत्रको हवाई सुरक्षा र उडानको प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।
सम्मेलनमा ४४ देशका हवाई महानिर्देशकहरूको साथै एसिया प्रशान्त क्षेत्रका, अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोईङ, एयरबस, इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयोटा)लगायत अन्तर्राष्ट्रिय संघसंस्थाको समेत सहभागिता रहनेछ ।
आगामी अक्टोबर महिनामा आईकाओ मुख्यालय मन्ट्रियलमा हुने आईकाओ ४०औं महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ । आईकाओको महासभा हरेक तीन वर्षमा हुन्छ ।
महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बंगलादेशमा आयोजना हुनेछ । भोलीबाट सुरु हुने सम्मेलन शुक्रबार सम्म गरी पाँच दिन चल्ने छ।