१ सय ९ विद्युत् आयोजनाको लाइसेन्स खारेज
सरकारले १ सय ९ विद्युत् आयोजनाको लाइसेन्स खारेज गरेको छ । लाईसेन्स प्राप्त गरेपछि पनि ५ बर्षसम्म देखि अध्ययन कार्य सुरु नगरेपछि सरकारले लाईसेन्स नै खारेज गरिदिएको हो । विद्युत् विकास विभागले अध्ययन अनुमति पाएका २ हजार ९ सय २९ मेगावाटका १ सय ९ आयोजनाको लाईसेन्स खारेज गरेको हो । विभागले सुरुमा २ वर्षका लागि अध्ययन गर्ने अनुमति दिन्छ । त्यस अवधिमा पनि नसकिएको अवस्थामा ५ वर्ष म्याद थप्ने गरेको छ ।
हाल २ सय ६७ जलविद्युत् आयोजनाको अध्ययन भइरहेको छ । विभागबाट अनुमति पाएर विभिन्न प्रवद्र्धकहरूले अध्ययन गरिरहेका हुन् । त्यसबाट १७ हजार ५५ मेगावाट बिजुली उत्पादन हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यस्तै, विभागबाट अनुमति लिएर ५ सय ७ मेगावाटका ५७ सौर्य विद्युत् आयोजनाको अध्ययन भइरहेको छ ।
विभागले हाल ७ हजार ९ सय २९ मेगावाटका १ सय ८४ जलविद्युत् आयोजनाको उत्पादन (निर्माण) अनुमति जारी गरेको छ । त्यस्तै, ३७ मेगावाटका ५ सौर्य्विद्युत् आयोजनाको उत्पादन अनुमति दिएको छ । उत्पादन अनुमति लिएका विद्युत् आयोजनाले अनुमति लिएको ६ महिनाभित्र उत्पादनस्थलमा काम सुरु गरिसक्नुपर्ने व्यवस्था छ ।